रूपन्देही । मुलुकमै पहिलोपटक सारस पन्छीको आर्टिफिसियल इन्टेलिजेन्स-एआईको प्रयोग गरेर अध्ययन अनुसन्धान थालिएको छ।
भक्तपुर बहुमुखी क्याम्पस र लुम्बिनी ग्रिन युथ क्लबद्वारा बेइजिङ फरेष्ट युनिभर्सिटी, चीनको प्राविधिक सहयोगमा नेपालमा चरा अध्ययनमा पहिलोपटक एआई प्रविधि प्रयोग भएको हो ।
युनिभर्सिटीको प्राविधिक टोलीले अहिले लुम्बिनी र कपिलवस्तुमा १० दिनमा सारसका ३२ हजार बढी तस्बिर खिचेको छ । यो टोलीले सन् २०१५ मा नेपाल आएर यिनै ठाउँमा २४ हजारभन्दा बढी फोटो खिचेको थियो ।
१० वर्ष अघि र पछि खिचिएको तस्बिरलाई एआई माध्यमबाट पाइथन सफ्टवेयर प्रयोग गरेर अनुसन्धान गरिने भक्तपुर बहुमुखी क्याम्पसका शिक्षण सहायक दिक्पालकृष्ण कर्माचार्यले बताउनुभयो ।
यो अनुसन्धानले १० वर्षअघि तस्बिर खिचेका सारस छन् कि छैनन् भन्ने जानकारीसँगै तिनको आयु पत्ता लगाउन सहयोग गर्नेछ। रूपन्देही-कपिलवस्तु अन्तर जिल्ला सारसको आवागमन कस्तो छ ?, एक ठाउँमा गुड बनाएको सारसले अर्को ठाउँमा बनाउँछ कि बनाउँदैन भन्नेकुरा पत्ता लाग्नुका साथै सारको जिल्लागत वितरणबारे तथ्यपरक जानकारी पाइने अपेक्षा छ ।
तीन महिना लगाएर बेइजिङ फरेष्ट युनिभर्सिटीका प्राविधिकले तथ्यांक तयार गरेर आफूहरूलाई पठाउने क्याम्पसले जनाएको छ । २०८० मा गरिएको अध्ययनले नेपालमा ६ सय ९० वटा सारस रहेको देखाएको थियो । जसमध्ये ६ सय सारस कपिलवस्तु र रूपन्देहीमा छन् ।