काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अनिच्छापछि संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित गर्नबाट रोकिएको छ । प्रधानमन्त्री ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा संघीय निजामती सेवा विधेयकमाथि अझै राजनीतिक तहमा छलफल आवश्यक रहेको बताएपछि आज प्रतिनिधि सभाबाट पारित गर्ने तय भएको विधेयकको कार्यसूची नै रोकिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधका बीच सदन चलाइरहेका सभामुख देवराज घिमिरेले आज त्यही विषयलाई देखाएर बैठक स्थगित गरे पनि पछि सूचना टाँसेर बिहीबारसम्मका लागि स्थगित गर्नुभयो । सदनमा विपक्षीले गरेको अवरोध बेवास्ता गरेका सत्तारुढ दलहरुले निजामती सेवा विधेयकमा राखिएको कुलिङ पिरियडका विषयमा प्रधानमन्त्रीले चासो राखेको र त्यसलाई मिलाउनुपर्ने भनेपछि विधेयक पास गर्नबाट रोकिएको हो ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठकमै कुलिङ पिरियडका विषयमा अझै सहमति गर्न बाँकी रहेकाले तत्काल पारित नहुने बताएको एक मन्त्रीले जानकारी दिनुभयो । राज्यव्यवस्था तथा सुशासन समितिबाट २ वर्ष कुलिङ पिरियड राख्ने गरी सर्वसम्मत पारित भएको विधेयकमा प्रधानमन्त्रीले चासो देखाएपछि अन्तिम समयमा संसद्बाट पास गर्नबाट रोकिएको हो ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद्मा अवरोध जारी रहेकाले विधेयक निर्णयार्थ पेश नगरिएको बताउनुभयो । प्रधानमन्त्रीकै चासोका कारण विधेयक रोकिएको हो भन्ने प्रश्नमा उहाँले सरकारको चासो हुनु स्वाभाविक भएको तर निर्णय संसद्ले नै गर्ने प्रतिक्रिया दिनुभयो ।
विधेयकमा राखिएको २ वर्षको कुलिङ पिरियड रोक्न मुख्यसचिव, सचिव लगायतका उच्चपदस्थ कर्मचारीहरू नै दौडधुप गरेका थिए । उनीहरूले प्रधानमन्त्री, सभामुखदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई दबाब दिएका थिए ।
विपक्षीको अवरोध र विरोधका बीच यसअघि सदन चलाएका सभामुख घिमिरेले पनि विधेयक पारित गर्ने बैठक भने रोकिदिनुभएको छ । यसअघि दिउँसो २ बजे बसेको प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गर्दै रास्वपाले विरोध गरेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू आज निलो स्कार्फ लगाएर बैठकमा उपस्थित भएको भन्दै सत्तारुढ नेपाली कांग्रेसले आपत्ति जनाउँदै उनीहरूलाई निष्कासन गर्न माग गरेको थियो ।
त्यसपछि आधा घण्टाका लागि भनेर रोकिएको बैठक सूचना टाँसेर साढे ४ बजेसम्मका लागि स्थगित गरिएको थियो । त्यसपछि बैठक नै नबसी बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।