युद्धविरामभन्दा पनि स्थायी समाधान चाहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

असार ३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
युद्धविरामभन्दा पनि स्थायी समाधान चाहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

काठमाडौं । इजरायल र इरानबीचको घातक द्वन्द्व पाँचौं दिन पनि जारी रहँदा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले यी दुई देशबीच आफूले युद्धविरामभन्दा पनि परको स्थायी समाधान चाहेको बताउनुभएको छ । तेहरानका बासिन्दालाई तत्काल शहर छाड्न चेतावनी दिएर जी सेभेनको बैठक छोट्याउँदै क्यानडाबाट वासिङ्टनतर्फ लाग्नुभएका ट्रम्पले विमानमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । 

ट्रम्पको भनाइको वास्तविक अर्थ के हो र उहाँ के चाहिरहनुभएको छ भन्ने कुरा अझै स्पष्ट नभएको बीबीसीले टिप्पणी गरेको छ । यद्यपि ट्रम्पले इरानले अमेरिकासँग उसको परमाणु कार्यक्रम सीमित गर्नेबारे चाँडै सम्झौता गरोस् भन्ने चाहेको हुन सक्ने अनुमान गरिएको छ । क्यानडा छाडदै गर्दा सामाजिक संजाल ट्रुथ सोसलमा गरेको पोस्टमा ट्रम्पले अमेरिकासँग परमाणु सम्झौता नगरेर इरानले गल्ती गरेको आशयको अभिव्यक्ति दिनुका साथै इरानले कहिल्यै पनि परमाणु हतियार बनाउन नसक्ने उल्लेख गनुभएको थियो । 

 तेहरानका बासिन्दालाई शहर छाड्न दिएको चेतावनीबारे सोधिएको प्रश्नमा ट्रम्पले आफूले सचेत गराउनका लागि यस्तो भनेको स्पष्टीकरण दिनुभएको छ ।

ट्रम्पले क्यानडा छाडेपछि जारी गरिएको जी सेभेनको संयुक्त वक्तव्यमा आफ्नो रक्षा गर्ने अधिकार रहेको भन्दै इजरायलप्रति समर्थन जनाइएको छ भने इरानलाई मध्यपूर्वमा अशान्तिको तथा आतंकको स्रोत भएको आरोप लगाइएको छ । विज्ञप्तिमा इरान क्षेत्रीय अस्थिरता र आतंकको मुख्य स्रोत भएको र इरानसँग कहिल्यै पनि परमाणु हतियार हुनु हुँदैन भन्ने कुरा स्पष्ट रहेको उल्लेख गरिएको छ ।

उता इजरायल र इरानले आज पाँचौं दिन पनि एकअर्कामाथिको आक्रमण जारी राखेका छन् । यद्यपि अघिल्ला रातहरूभन्दा गए राति र आज बिहानैका आक्रमण त्यति तीव्र नभएको जनाइएको छ । तेहरानमा गए राति गरेको आक्रमणमा इरानी सेनाका एक उच्च कमान्डर अली शदमानी मारिएको इजरायली सेनाले जनाएको छ । यस्तै इरानले आज बिहान आफ्नो देशमाथि ३० वटा क्षेप्यास्त्र प्रहार गरेको र १५४ जना घाइते भएको इजरायलले जनाएको छ ।

आक्रमण जारी रहँदा तेहरानका सडकमा शहर छाड्ने र पेट्रोल पम्पहरूमा इन्धन भर्ने सवारी साधनहरूको लामो लाइन लागेको छ ।

यसैबीच इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानका सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीले सद्दाम हुसैनको नियति भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।