काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसद् बैठकमा निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि नेपाली कांग्रेसले नियमापत्ति जनाएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नियमापत्ति जनाउनुभएको हो ।
उहाँले संसद्मा मर्यादित पोशाकमा आउने व्यवस्था गरिएको स्मरण गराउँदै रास्वपाका सांसदहरूले लगाएको स्कार्फ मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न गर्नुभयो । उहाँले भोलिका दिनहरूमा कोही हाफ पाइन्ट तथा कोही जथाभाबी ड्रेसमा आए के गर्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले यस प्रकारका व्यवहार गर्ने सांसदहरूलाई सभामुखले चेतावनी दिनुपर्ने र संसद् बैठकबाटै निष्कासन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, “संसद्मा अहिले केही माननीय सदस्यहरूले जुन स्कार्फ लगाएर आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ? यसरी भोलि कोही हाफ पाइन्ट मात्र लगाएर आउने, जथाभाबी ड्रेसमा आउने, जे पनि लगाएर आउन थाल्यो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ? यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यहरूलाई सभामुखले चेतावनी दिने र संसद्बाट निष्कासन गर्न आवश्यक छ भन्ने कुरामा ध्यानाकर्षण गराउँछु ।”
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिनुभएको आरोप लगाउँदै राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाका सांसदहरूले लगातार संसद् अवरोध गर्दै आएका छन् । उनीहरूले गत जेठ १३ देखि संसद् अवरोध गर्दै आएको हुन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा पनि रास्वपाका सांसदहरूले निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाको लागि बैठक स्थगित गर्नुभएको छ ।