इजरायल-इरान द्वन्द्व : विभिन्न मुलुकले थाले नागरिक फिर्ता ल्याउने अभियान

असार ३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायल-इरान द्वन्द्व : विभिन्न मुलुकले थाले नागरिक फिर्ता ल्याउने अभियान

काठमाडौं । इजरायल-इरान आक्रमण जारी रहँदा विभिन्न देशले त्यहाँ रहेका आफ्ना नागरिकलाई सुरक्षित फिर्ता ल्याउने क्रम सुरु गरेका छन् ।

चेक गणतन्त्र र पोल्यान्डले आफ्ना नागरिकको उद्धार सुरु गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चेक विदेशमन्त्री जाना सेर्नोचोभाले इजरालबाट उद्धार गरिएका ६६ जना नागरिक बोकेको विमान आज राजधानी प्राग अवतरण गरेको पुष्टि गर्नुभएको छ । स्लोभाकियाको विमानमार्फत थप २५ जना नागरिक स्वेदश फिर्ता आउँदै गरेको उहाँले जानकारी दिनुभएको छ ।

पोल्यान्डले पनि इजरायलमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउन विमानको व्यवस्था मिलाइरहेको छ । इजरायलमा रहेका ३ सयभन्दा बढी पोलिस नागरिकले स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । इजरायलबाट उद्धार गरिएका आफ्ना नागरिकलाई लिएर इजिप्टको शार्म अल शेखबाट एउटा चार्टर्ड विमान बुधबार उड्ने उहाँले जानकारी दिनुभएको छ । 

पोल्यान्डले तेहरानबाट पनि आफ्ना अत्यावश्यक बाहेकका कर्मचारीलाई अजरबैजानको बाकु हुँदै फिर्ता ल्याउने तयारी गरेको छ । यस्तै इजरायलबाट जोर्डन हुँदै उद्धार गरिएका ७३ जना बोकेको एउटा विमान स्लोभाकियाको राजधानी ब्राटिस्लाभा पुगेको जनाइएको छ ।

चिनियाँ विदेश मन्त्रालयले पनि इजरायल र इरानमा रहेका आफ्ना नागरिकलाई उद्धार गर्ने कार्य जारी रहेको जनाएको छ । इजरायलस्थित चिनियाँ दूतावासले आज एक सूचना जारी गर्दै त्यहाँ रहेका आफ्ना नागरिकलाई स्थलमार्ग हुँदै सक्दो चाँडो जोर्डनतर्फ लाग्न आग्रह गरेको थियो ।

भारतले पनि इरानमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट उद्धार गर्ने कार्य सुरु गरेको र करिब एक सय जना भारतीयहरू आर्मेनिया सीमासम्म आइपुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै अन्य देशले पनि आफ्ना नागरिकलाई फिर्ता ल्याउने प्रक्रिया सुरु गरेका छन् ।