विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिसा प्रकरणमा देश र जनताको हितका निम्ति सहमति गर्न बाध्य भएको बताउनु भएको छ ।
विराटनगरमा शनिबार पत्रकारहरूसँगको कुराकानी गर्दै अध्यक्ष दाहालले निजामति कर्मचारी सेवा र शिक्षा ऐन संसद्बाट छिटो पारित गर्नुपर्ने लगायतको विषयले सहमति गर्नुपरेको भन्दै निरिहता व्यक्त गर्नुभयो ।
भिजिट भिसाको सम्बन्धमा छानबिन, अध्ययन गरेर आवश्यक नीतिगत संरचना बनाउन एक महिनाभित्र छानबिन समिति गठन गर्ने सहमति भएको दाहालको भनाई छ ।
भिजिट भिसाको विषय अहिलेको गृहमन्त्रीसँग मात्रै सम्बन्धित नभएको र यो अत्यन्तै गम्भीर र संवेदनशील विषय भएको भन्दै अध्यक्ष दाहालले अहिलेको सहमति उधारो नभएको र उधारो भए एक महिनापछि पुनः लड्ने जानकारी दिनुभयो ।
अहिलेको यो सहमतिले भिजिट भिसाको सम्बन्धमा छानबिन र अध्ययन कसरी अघि बढ्छ त्यसले नेपाली कांग्रेससँगको समन्ध सुधार हुने, नहुने निश्चित हुने दाहालले बताउनु भयो ।
भिजिट भिसा प्रकरणमा सदन अबरोध गरेर कुनै गल्ती नगरेको र यो विषयमा सरकारको गम्भिरता र संवेदनशीलता देखियोस् भनेर विरोध गरेर सहमति गरिएको दाहालको भनाइ छ ।
यो सहमतिमा सत्तासँग सबन्धित कुनै कुरा नभएको भन्दै दाहालले द्वन्द्वकालको घटनामा अग्नी सापकोटामाथि छानविन नगरियोस् भनेर पनि नसाटेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफू एउटै भएको भास्य निरंकुशतावादी, राजावादी र अराजकतावादीले निर्माण गरेको भन्दै दाहालले सबैको आ-आफ्नै विचार, सिद्धान्त र लाइन भएको स्पष्ट पार्नुभयो ।