काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुनै नसक्ने दाबी गर्नुभएको छ ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै मन्त्री लेखकले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूविरूद्ध नियोजित र षड्यन्त्रमुलक ढंगले राजनीतिक रूपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाउनु भयो ।
आफूलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका विषयमा समेत कुनै सत्यता नरहेको जिकिर गर्दै खेद प्रकट गर्नुभयो । मन्त्री लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परेमा उपस्थित हुन तयार रहेको पनि बताउनु भयो । उहाँले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित रहेको पनि जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अख्तियार दुरूपयोग अनुसन्धानले आयोगले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनि गरिएको प्रचार-प्रसार समाज र सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन् । उक्त कार्यमा मेरो संलग्नता छैन्, हुन सक्दैन भन्ने कुरा सम्मानित सदनमा जानकारी गराउन चाहन्छु । मेरा विरूद्धमा नियोजित ढंगले, षड्यन्त्रमूलक ढंगले, राजनीतिक रूपमा आक्रमण गर्ने प्रयत्न भएको छ । जसको म यो सम्मानित सदनबाट खेद प्रकट गर्न चाहन्छु । र, म साथिहरूलाई आग्रह गर्न चाहन्छु-संवैधानिक निकायले छानबिन गरिराखेको विषयलाई कुनैपनि मन्त्रीसँग जोड्ने वा सरकारसँग जोड्ने र जवाफ दिने हो भने हिजो कति मन्त्रीहरूले जवाफ दिनुभएको थियो । त्यसको ताकत साथिहरुसँग छ ?’
सभाको बैठकमा रास्वपा र राप्रपाको विरोध र नाराबाजीकै बीचमा मन्त्री लेखकले आफ्नो धारणा राखिरहनुभएको छ । माओवादी संसद्को गतिरोध अन्त्य गर्न तयार भएपनि रास्वपा र राप्रपा अझै सहमत छैनन् ।
उनीहरूले भिजिट भिसा प्रकरणको छानबिनको लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै राखेका छन् । दुई दलको विरोधका बीच सभामुखले सभालाई अगाडि बढाउनुभएको छ ।