भ्रष्टाचार गर्नेलाई टुँडिखेलमा उभ्याउनुपर्छः सांसद सुवाल

जेष्ठ २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
भ्रष्टाचार गर्नेलाई टुँडिखेलमा उभ्याउनुपर्छः सांसद सुवाल

काठमाडौं । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार गर्नेहरूलाई जनताले टुँडिखेलमा उभ्याउनुपर्ने बताउनुभएको छ । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकारमा गएर भ्रष्टाचार गर्ने र त्यसैले जनतालाई भोज खुवाएर पुनः चुनाव जित्ने र फेरि सरकारमा आएर भ्रष्टाचार गर्ने काम भइरहेको बताउनुभयो । 

उहाँले नेपालको सार्वजनिक ऋण २७ खर्ब पुगेको भन्दै नेपालीलाई ऋण बोकाएर घ्यू भात खानेहरूलाई कानुनको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

सांसद सुवालले भन्नुभयो, “सरकारमा गएर भ्रष्टाचार गर्ने, त्यही पैसा जनतालाई सामान बाँडेर, भोज खुवाएर चुनाव जित्ने, फेरि सरकारमा गएर भ्रष्टाचार गर्ने । विदेशीसँग र नेपालीसँगको सार्वजनिक ऋण २७ खर्ब पुग्यो । यसरी नेपालीलाई ऋण बोकाएर घ्यू भात खाने को को हुन् ? सबैलाई अब टुँडिखेलमा उभ्याउनै पर्छ । गिरीबन्धु, भिजिट भिसा, सुन काण्ड, नक्कली भुटानी शरणार्थी, जहाँ जहाँ जसले पैसा खाएको छ नेपाली जनताले अब यसरी नै नाङ्घेझार बनाउनु पर्छ । भ्रष्टाचार जहाँ निर्णय भए पनि कारबाही हुनुपर्छ ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.