काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध राख्ने ढंगले दर्ता गरिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताउनुभएको छ ।
“राजनीतिक प्रतिशोध साँध्ने ढंगले नै गएको देखिन्छ । पहिला ललिता निवास प्रकरणमा बाबुराम भट्टराई र माधव नेपाल दुवैको फल्ट छ भनेर चर्चा चल्यो । त्यति बेला अख्तियारले नै निर्णय गरेर दस्ताबेज सरकारलाई पठाएको छ । त्यसमा प्रधानमन्त्री र क्याबिनेटले गरेको निर्णयमा केही गर्ने आफूहरूको क्षत्राधिकार नभएको भन्दै उहाँहरूबारे केही गर्न नसक्ने भएकाले के गर्नुपर्ने हो क्याबिनेटले गरोस् भनेर लेखेर दिएको छ”, उहाँले भन्नुभयो, “त्यही अख्तियारले अहिले कसरी सिधै पूर्वप्रधानमन्त्रीमाथि नै मुद्दा दर्ता गर्न पुग्यो भन्ने प्रश्न छ । यसले प्रतिशोध साँध्नका लागि जबर्जस्ती ठेलेर भए पनि माधवजीलाई जसरी भए पनि गरौं भन्ने देखिन्छ।”
अध्यक्ष दाहालले नेपालविरुद्धको भ्रष्टाचार मुद्दा कांग्रेस सभापति शेरबहादुर देउवासँग सल्लाह नगरी दर्ता गरिएको पनि बताउनुभयो । आफूलाई बिहीबार साँझ कांग्रेस सभापति देउवा फोन गरेर नेपालविरुद्धको मुद्दाबारे सोधखोज गरेको बताउनुभयो ।
“सत्तापक्षमा भएको सबैभन्दा ठूलो पार्टीको नेताले प्रतिपक्षको नेतालाई के भएको हो भनेर सोध्नुभयो । उहाँलाई थाहा नभएको बुझें । मुद्दा दर्ता गर्ने बेला सभापतिसँग सल्लाह गरेर दर्ता भएको होइन भन्ने बुझें मैले”, उहाँले भन्नुभयो ।
अध्यक्ष दाहालले मन्त्रिपरिषद्का नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्दै जाने हो भने भएभरका पूर्वप्रधानमन्त्रीमाथि मुद्दा दर्ता हुनसक्ने बताउनुभयो । “यसले धेरै चिज खुला गर्ने भयो । गिरीबन्धु पनि खुला गर्ने भयो, ओम्नी पनि खुला गर्ने भयो, जहाज प्रकरण पनि खुला गर्ने भयो । सबै भएभरका खुला गर्ने भयो । अब प्रधानमन्त्री कोही पनि बच्ने कुरा भएन”, उहाँले भन्नुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना विरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित मुद्दा दर्ता भएको छ ।