गृहमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षीको अडानका कारण संसद् बैठक आज पनि बस्न सकेन

बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित
जेष्ठ २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षीको अडानका कारण संसद् बैठक आज पनि बस्न सकेन

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलहरूको अडान कायमै रहेपछि प्रतिनिधि सभा बैठक आज पनि सूचना टाँस गरेर स्थगित गरिएको छ । आज दिउँसो १ बजे बोलाइएको बैठक सवा ३ बजेका लागि सारिएकोमा सहमति जुट्न नसकेपछि भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउन बोलाएको प्रमुख दलका प्रमुख सचेतकहरूको बैठक पनि माओवादी केन्द्रले अडान नछाडेपछि निष्कर्षविहीन भएको थियो । बैठकमा सहभागी माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकार गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन दुवैमा तयार नभएपछि सहमति नभएको बताउनुभयो । 

भिजिट भिसा प्रकरणको छानबिन हुनुपर्ने आफूहरूको माग रहेको उल्लेख गर्दै पूरा नभएसम्म सदनको अवरोध जारी रहने उहाँले बताउनुभयो ।

प्रतिनिधि सभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२-८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । यस्तै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ । 

बैठकमा सभामुख देवराज घिमिरेले विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.