कास्की । एमाले निकट राष्ट्रिय युवा संघको दशौं महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ । आज साँझ सार्वजिक भएको मतपरिणाम अनुसार सुमन पुरीलाई १ सय ८८ मत अन्तरले हराउँदै थेवे अध्यक्षमा दोहोरिनुभएको हो ।
थेबेले ७ सय ९६ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी सुमन पुरीले ६ सय ८ मत ल्याउनुभयो । यस्तै, युवासंघको महासचिवमा ७ सय ५५ मत ल्याउँदै महेश चौलागाईं विजयी हुनुभएको छ ।
१ हजार ७ सय ६४ मतदान प्रतिनिधि रहेकोमा १ हजार ४ सय ४ मत खसेको थियो । क्षितिजकै नेतृत्वमा सर्वसम्मत गर्न नेताहरूले कसरत गरेको भए पनि सुमनले अस्वीकार गरेर मतदानमार्फत नै नेतृत्व चुनिनुपर्ने अडान लिएपछि प्रक्रिया अगाडि बढाइएको थियो ।
महाधिवेशनमा पदाधिकारी र सदस्यमा गरी ३ सय ९९ जनाको उम्मेदवारी परेको थियो । पदाधिकारी ९ सहित १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १ सय ६३ पदमा निर्वाचन भएको हो ।