जेन-जी आन्दोलनपछि पार्टीमा एक्लिँदै केपी ओली

आश्विन २२, २०८२ |दशरथ राई
जेन-जी आन्दोलनपछि पार्टीमा एक्लिँदै केपी ओली

काठमाडौं । पार्टीभित्र हुकुमी शैलीमा एकछत्र राज गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि एक्लिँदै जानुभएको छ । ओलीकै ब्यावहारका कारण जेन-जी आन्दोलनमा ठूलो मानवीय तथा भौतिक क्षति भएको निष्कर्षमा एमालेका धेरै नेता पुगेका छन् । प्रधानमन्त्रीमा रहँदासम्म ओलीविरुद्ध चुँ सम्म गर्न नसक्ने नेताहरु पनि अहिले कटु आलोचक बनेका छन् । जेन-जी विद्रोहपछि पार्टीका आधिकारिक बैठक बोलाउनसमेत अलमल गर्दै आएका ओलीले दबाब थेग्न नसकेपछि असोज २७ गतेदेखि केन्द्रीय कमिटी बैठक बोलाउनुभएको छ । त्यसअघि केन्द्रीय कमिटीका एजेण्डा तय गर्न २४ गते पदाधिकारी बैठक बस्दै छ । तर ओलीलाई यी दुवै बैठकको सामना गर्न धौ-धौ पर्ने देखिएको छ ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको दबाबले प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको जिम्मेवारी लिन मान्नुभएको छैन । तर पार्टीभित्र उहाँको चर्को आलोचना सुरु भइसकेको छ। कतिसम्म भने पदाधिकारी तहकै नेताहरुले उहाँलाई 'स्टप एन्ड स्टेप डाउन' भन्न थालेका छन्। अब २७ गते सुरु हुने केन्द्रीय कमिटीको बैठकमा नेताहरु कसरी प्रस्तुत हुन्छन् भन्ने कुराले एमालेमा ओली र उहाँ पक्षधरको भविष्य निर्धारण गर्ने छ । सचिव योगेश भट्टराईले 'स्टप एन्ड स्टेप डाउन' अर्थात् रोकिनुस् र पद त्याग्नुस् भन्दै ओलीका लागि यही विकल्प बाँकी भएको बताउनुभयो।

गत आइतबार बसेको पदाधिकारी बैठकमा पनि अधिकांश नेताले ओलीको चर्को आलोचना गर्दै राजीनामा मागेका थिए । विगतदेखि नै ओली नेतृत्वको आलोचना गर्दै आएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेले मात्र होइन अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङले पनि ओलीको नेतृत्वलाई जनताले अस्वीकार गरेकाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने कुरा उठाए । तर ओली भने अझै पर्ख र हेरको मनस्थितिमा रहनुभएको छ, नेताहरुले अभिभावकको रुपमा बस्न दिएको सुझावलाई वास्ता गर्नुभएको छैन ।

आफू नेतृत्वको सरकारले जेन-जी विद्रोहमा चरम दमन गरेको कुरालाई बेवास्ता गर्दै ओली भने जेन जी आन्दोलनमा घुसपैठ भएको बताइरहनुभएको छ। ७६ जनाको मृत्यु हुनु र खर्बौंको सरकारी तथा निजी सम्पत्ति ध्वस्त हुनुमा ओलीको अक्षमताकै कारक भएको भन्दै एमालेभित्रका जेन-जी युवाले समेत विद्रोहको समेत तयारी थालेका छन् । ओलीको राजनीतिक धरातल र औचित्य सकिँदा पनि नेतृत्व हस्तान्तरण गर्न आलटाल गरेको भन्दै एमालेका जेन-जी युवाले विद्रोहको चेतावनी दिएका हुन् । ओली नेतृत्वको सरकारले गरेका राम्रा-नराम्रा कामको जिम्मेवारी पार्टीले लिने भन्दै केही नेताहरुले अभिभावकको भूमिका बस्न सुझाएका छन् । तर ओली भने महाधिवेशनबाट नेतृत्वको टुंगो लगाउने मनस्थितिमा देखिनुभएको छ । एमाले केही युवा नेता भने जेन-जी विद्रोहपछिको अवस्था मूल्यांकन गरेर पार्टीको नेतृत्व परामर्शबाटै टुंगो लगाउनपर्ने पक्षमा छन् ।

सरकार र पार्टीको नेतृत्व गरिरहँदा जेन-जी आन्दोलन भएकाले आफ्नो नेतृत्वमा प्रश्न उठेपछि ओलीले गुण्डु निवासमा पदाधिकारीसहितका नेताहरुलाई एक्ला-एक्लै बोलाएर छलफल गरिरहनुभएको छ । अहिले अध्यक्ष ओलीको पक्षमा उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल मात्र छन् । महासचिव पोखरेलले त जेन जी आन्दोलनलाई 'खास समयमा देखिने असन्तोष र विद्रोह'को संज्ञा दिएर समाज र राजनीति त्यसबाट निर्देशित हुन नसक्ने भन्दै पार्टी नेतृत्वमाथि उठेका प्रश्न र पूनर्संरचनाको दबाबलाई सामान्यकरण गरिदिनुभएको छ। ओली र ओली पक्षका केही नेताको हठ असोज २४ गते बस्ने पदाधिकारी बैठक र २७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकले तोडिन सक्ने आकंलन एमालेका धेरै नेता तथा कार्यकर्ताको छ । तर ओलीतर्फ एकोहोरो खनिएको पार्टी पंक्तिले समग्र कार्यशैली सुधार र पार्टी पुनर्गठनको विषयमा भने गम्भीर बहस चलाउन सकेको छैन ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।