काभ्रे । अविरल वर्षाले ठाउँ–ठाउँमा कटान भई अवरुद्ध बनेको बीपी राजमार्गको काभ्रे खण्डको ऊर्जा, भौतिक तथा शहरी विकास मन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षण गर्नुभएको छ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले सम्बन्धित निकायलाई दुई दिनभित्र राजमार्गलाई अस्थायी रूपमा सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो। उहाँले सडक डिभिजन, नेपाली सेना, प्रहरी र स्थानीय सरकारसँग समन्वय गरी मानवसहित मेसिनरी प्रयोग गरेर प्राथमिकता आधारमा मर्मत कार्य अघि बढाउन आदेश दिनुभयो।
वर्षासँगै आएको रोशी खोलाको बाढी र विभिन्न स्थानमा भएको सडक कटानका कारण बीपी राजमार्गको काभ्रे खण्डमा सयौँ सवारी साधन अलपत्र परेका छन्। मन्त्री घिसिङले राजमार्ग पुनःसञ्चालनका लागि आवश्यक स्रोत, साधन र जनशक्ति तत्काल परिचालन गर्न निर्देशन दिनुभएको हो। स्थानीय तहका प्रतिनिधिहरूले पनि राजमार्ग मर्मतमा सहयोगका लागि जनशक्ति र उपकरण उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्।