ओली र लेखकलाई तत्काल पक्राउ गर्न सुदन गुरूङ समूहको माग

आश्विन २०, २०८२ |किरण पौडेल
ओली र लेखकलाई तत्काल पक्राउ गर्न सुदन गुरूङ समूहको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न सुदन गुरूङ नेतृत्वको जेन-जी समूहले माग गरेको छ ।

सामाजिक सञ्जालमा एउटा फोटो पोस्ट गर्दै सुदन गुरूङले ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै सोसल मिडियामा ट्रेन्डको सुरूवात गरेको उल्लेख गर्नुभएको छ । दुई नेतालाई ‘हत्यारा’को संज्ञा दिइएको फोटो पोस्टलाई अन्य जेन-जी अभियन्ताले पनि सेयर गरेका छन् । 'दि काउन्सिल अफ जेन-जी'को नामबाट यस्तो पोस्ट गरिएको छ ।

दुई नेतालाई तत्काल पक्राउ नगरे अर्को कदम चाल्न बाध्य हुने चेतावनी पनि दिइएको छ । फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा यो पोस्टलाई सयौंले सेयर गरेका छन् भने कमेन्ट पनि उत्तिकै गरेका छन् ।

सुदनले आह्वान गरेको ट्रेन्डलाई पछ्याउँदै जेन-जी अभियन्ताकारूपमा परिचित अन्यले पनि उस्तै पोष्ट गरेका छन् । अर्की जेन-जी प्रतिनिधि रक्षा बमले पनि Arrest KP Oli लेखिएको पोस्ट सेयर गर्दै लेख्नुभएको छ, 'अधिकार माग्न गएका निहत्था विद्यार्थीमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ।'

ट्रेन्ड पछ्याउँदै जेन-जी आन्दोलनमा सहभागि युवाहरूले 'हरेक गोलीको हिसाब हुनेछ' भन्दै पोस्ट गरेका छन् । शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा सरकारका केही मन्त्रीसहित सुदन गुरूङसहितका जेन-जी प्रतिनिधिबीच बैठक बसेको थियो । बैठकमा गुरूङ नेतृत्वको समूहले आठ बुँदे प्रस्ताव अघि सारेको थियो ।

प्रस्तावमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई हटाउनुपर्ने, न्यायपरिषद् पुनर्संरचना गर्नुपर्ने लगायतका माग अघि सारिएको थियो । बैठकमा यी मागमा सहमति नजनाउने जेन-जी प्रतिनिधि पनि सहभागि थिए । 

प्रधानमन्त्री सहभागि नरहेको बैठकमा गृह र सञ्चारमन्त्री पनि गुरूङ नेतृत्वको समूहले तयार पारेको प्रस्तावमा सहमत हुन सक्नुभएन । त्यसपछि बैठकमा केहीबेर गरमागरमसमेत भएको सहभागीि प्रतिनिधिहरूले बताएका छन् ।

कान्तिपुरसँग कुरा गर्दै सुदन समूहका प्रतिनिधि ओजस्वी थापाले जेन-जी आन्दोलनका घाइतेले गरेका माग समेटेर आफूहरूले प्रस्ताव तयार पारेको बताउनुभयो । घाइतेहरूले राजनीतिक भागबन्डाका आधारमा नियुक्त भएका पदाधिकारीहरूले राजीनामा दिनुपर्ने वा उहाँहरूलाई जिम्मेवारीबाट हटाउनुपर्ने माग गरेको थापाको भनाइ छ । सञ्जालमा सुरू भएको ट्रेन्डका बारेमा भने उहाँले बोल्नुभएन ।

अर्को समूहले भने भ्रष्टाचार छानबिनका लागि आयोग बनाउनुपर्ने र निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्ने वातावरण बनाउनुपर्नेलगायतका विषय अघि सारेका थिए । बालुवाटार बैठकपछि गुरूङ लगायतले सरकारलाई दबाब दिनका लागि यस्तो अभियान चलाएको बताइएको छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।