जेनजी आन्दोलनका क्रममा आगजनीमा मेटिएका मालपोतका अभिलेख पुनसंकलनका लागि प्रक्रिया सुरु

जग्गाधनी स्वयं उपस्थित भएर ११ थरी कागजात पेस गर्नुपर्ने
आश्विन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेनजी आन्दोलनका क्रममा आगजनीमा मेटिएका मालपोतका अभिलेख पुनसंकलनका लागि प्रक्रिया सुरु

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मालपोत कार्यालयमा आगलागी हुँदा मेटिएका अभिलेख पुनसंकलनका लागि सम्वन्धित मालपोत कार्यालयहरुले प्रक्रिया सुरु गरेको छ । आगजनीका कारण २१ वटा मालपोत कार्यालयमा क्षति भएको थियो भने अधिकांश अभिलेख मेटिएका थिए ।

जसका कारण जग्गाधनीहरुले श्रेस्ता कायम गर्न झन्झट व्यहोर्नुपर्ने भएको छ । त्यसका लागि जग्गाधनी स्वयं उपस्थित भएर ११ थरी कागजात पेस गर्नुपर्ने भएको छ । कलंकी, कास्की लगायतका विभिन्न मालपोत कार्यालयहरुले सूचना जारी गर्दै विभिन्न ११ थरी कागजातसहित श्रेस्ता कायमका लागि निवेदन दिन भनेका हुन् । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेनजी युवा आन्दोलनको क्रममा काठमाडौंको कलंकी, कास्की, भरतपुर, बाँके, घोराही, तुलसीपुर, मोरङ, बुटवल, धनगढी र खैरहनीसहित २१ मालपोत कार्यालयमा आगजनी भएको थियो । तीमध्ये कतिपयमा डिजिटल अभिलेख छैन । डिजिटल रेकर्ड नभएकाको हकमा भूमि प्रशासन निर्देशिका २०८१ अनुसार श्रेस्ता कायम गर्न लागिएको हो ।

श्रेस्ता कायम गर्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, जग्गा रहेको स्थानीय तहबाट भएको भोगसम्बन्धी र सम्बन्धित जग्गा धनी एकिन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको तीन पुस्ते फोटो टाँससहितको सिफारिस, जग्गा धनीसँग भएको सक्कल पुर्जा लगायतका कागजात चाहिन्छ । यसैगरी जग्गा प्राप्तिको स्रोतमा लिखतबाट प्राप्त भएकोमा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणित प्रति, प्लट रजिस्टर, फिल्डबुक, नक्सा, चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिद पनि पेस गर्नुपर्ने छ । 

जग्गा रोक्का रहेकोमा रोक्का राख्ने संस्थाको सहमति, आवश्यकता अनुसार स्थलगत सर्जमिन, आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सूचना, गुठी जग्गाको हकमा गुठी संस्थानको सहमति पत्र लगायतका कागजातसहित मालपोत कार्यालयमा निवेदन दिनुपर्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.