काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयता बलियो बनाउन प्रदेशमा प्रहरी तथा कर्मचारी समायोजनको कार्य शिघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।
जनकपुरधाममा आयोजित 'संघीयता सुदृढीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम'मा बोल्दै मुख्यमन्त्री सिंहले संघीय संसद्को राष्ट्रिय सभामा मधेश प्रदेशबाट निर्वाचित सदस्यहरूद्वारा आयोजना गरिएको कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
मुख्यमन्त्री सिंहले कर्मचारीहरूको आवश्यक सहयोग नपाएकै कारण विकास बजेट इच्छाअनुसार खर्च हुन नसकेको बतउनु भयो । समायोजन भएका कर्मचारीमध्ये ११ औं तहका अधिकृतलाई सचिवमा पदोन्नति गर्ने र पालिकामा खटाइने प्रमुख प्रशासकीय अधिकृतहरूको खटाइ प्रदेश सरकारको मातहतमा हुनुपर्ने बताउनु भयो ।
उहाँले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा खटाइने सबै सचिवहरूलाई एकमुष्ट मुख्यमन्त्री कार्यालयमा पठाउनुभएको उदाहरण दिँदै मधेशका पालिकामा खटाइने प्रशासकीय अधिकृतहरू पनि मुख्यमन्त्री कार्यालयमार्फत् पठाइनु विकास र संघीयता सुदृढीकरणका लागि आवश्यक रहेको बताउनु भयो ।
मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा रासायनिक मल तथा बीउ विजनको आवश्यकता बढी भएपनि मलको कोटा न्युन रहेको उल्लेख गर्दै प्रदेशलाई बजेट जनसंख्याको आधारमा वितरण गर्नुपर्ने मागसमेत गर्नुभयो ।