काठमाडौं । त्रिभुवन विमानस्थलको अध्यागमन विभागका प्रमुखसहितका कर्मचारी भिजिट भिसा प्रकरणमा मुछिएपछि गृहमन्त्री रमेश लेखकको भूमिकालाई लिएर सार्वजनिक वृत्तमा प्रश्न उठेको छ । पार्टीभित्रैको एउटा पक्षले समेत राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने भनिरहँदा पार्टीको मूल पङ्क्तिले भने उहाँको बचाउ गरेको छ ।
प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरू भने यो प्रकरणलाई सहजै अगाडि बढ्न दिने पक्षमा देखिँदैनन् । पार्टीभित्र राजीनामा गर्नुपर्ने विषयलाई निर्णय गराएर सदनमा समेत त्यो विषयलाई चर्काउने तयारीमा उनीहरू देखिन्छन् । जसले गर्दा यति धेरै विवादमा बसेर गृहमन्त्री कसरी अगाडि बढ्छन् त भन्ने प्रश्न एकातर्फ छ भने पदमै बसेर उहाँमाथि कसरी निष्पक्ष छानबिन हुनसक्छ भन्ने अर्को प्रश्न समेत उठेको छ ।
भिजिट भिसामा विदेश जानेहरूबाट गैरकानुनी तवरले रकम लिएको आरोपमा विमानस्थल अध्यागमनका प्रमुखसहितका कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको घेरामा तानिएका छन । प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले अनुसन्धानमा तानेपछि अन्य केही कर्मचारीलाई पनि त्यहाँबाट सरुवा गरिएको छ । यो प्रकरणमा ठूलो रकम चलखेल हुने गरेकाले त्यो कर्मचारी तहमा मात्रै नभएर मन्त्रालयको नेतृत्वको समेत संलग्नताको विषय अहिले स्वयं कांग्रेसभित्रै उठेको छ । यसरी प्रश्न उठेपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकको राजीनामा मागिसकेको छ ।
विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले नै १३ गते बस्ने संसद् बैठक सहज नहुने भन्दै त्यो विषयलाई सदनमा चर्काउने संकेत देखाइसकेको छ । विपक्षीहरू यो विषयलाई चर्काउने भएपछि गृहमन्त्रीमाथि थप दबाब सिर्जना हुने निश्चित छ । यही परिस्थितिमा आइतबार बसेको एमाले सचिवालय बैठकमा समेत यो विषयमा कुरा उठेको थियो । तर प्रधानमन्त्रीले कर्मचारीको बदमासीलाई मन्त्रीसँग जोडिएको प्रस्टीकरण दिनुभएको थियो ।
एमाले नेताहरू पनि कर्मचारीले गरेको बदमासीलाई लिएर मन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताउँछन् ।
तर नेपाली कांग्रेसभित्रकै एउटा पक्ष भने गृहमन्त्रीले राजीनामा दिनुपर्ने पक्षमा दखिएको छ । तर सोमबार बसेको पदाधिकारी बैठकले भने गृहमन्त्री निर्दोष रहेको भन्दै बचाउ गरेको छ ।
पार्टीले जे दाबी गरे पनि पनि अनैतिक तवरले रकम असुल गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित चार जनामाथि अनुसन्धान गरिरहेको छ । गृहमन्त्रीको सचिवालयसम्मै अनुसन्धानको दायरामा आउनुपर्ने माग समेत उठ्न थालेको छ ।
सदनमा जवाफ दिने र प्रमाणित भएमा राजनीतिबाटै सन्न्यास लिने घोषणा गृहमन्त्रीले गर्नुभएको छ । तर सबैभन्दा शक्तिशाली मन्त्रालयको कमान्ड गरेर आफूमाथि समेत छानबिन गर्ने अवस्थामा निष्पक्षता कायम हुनसक्छ त भन्ने प्रश्न मन्त्री लेखकमाथि उठ्नु स्वाभाविक देखिन्छ ।