म नेकपा एमालेको ‘झोले’ हुँ : प्रधानमन्त्री ओली

जेष्ठ १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
म नेकपा एमालेको ‘झोले’ हुँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता र राष्ट्रका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सही कुरालाई समर्थन गर्दा झोले भन्ने प्रवृत्ति बढेको बताउनुभयो । 

उहाँले आफू जनताका झोला बोकेर हिँड्ने मान्छे भएको उल्लेख गर्दै जनताका झोला बोकेर हिँड्दा अलिकति पनि अप्ठ्यारो नलाग्ने बताउनुभयो । आफूले कुनै सामन्तको झोला नबोकेको र कुनै सामन्तको दुई कौडी लिएर त्यसका पछाडि स्तुति गान गर्न नकुदेको बताउनुभयो । आफू इतिहास नमर्काउने, नबंग्याउने, इतिहासलाई जस्ताको त्यस्तै राख्ने, इतिहासलाई सही बाटोमा अघि बढाउने नेकपा एमालेको झोले भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “इतिहास नमर्काउने, नबंग्याउने, इतिहासलाई जस्ताको त्यस्तै राख्ने, इतिहासलाई सही बाटोमा अघि बढाउँदा म नेकपा एमालेको झोले हो । म यस देशका जनताको झोले हो । अब भयो चित्त बुझ्यो प्रतिक्रियावादीहरूलाई । म कबुल गर्छु, झोले हो । झोला बोकेर हिँड्या हो । यी झोला किन बनेका भन्या ? बोक्न होइन ? राम्रा कुरा बोक्न बनेका झोला दलाली झोलाभरि हालेर बोक्छन् यिनीहरू । राम्रा कुरा बोकेर हिँडून् त्यो झोलामा । झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोकेर हिँड्नुमा गर्व छ ।”

प्रधानमन्त्री ओलीले मेसिन खेलाएर अरूको चरित्र हत्या गरेर बुस्ट गरेका प्रतिक्रियाहरूको पछि नलाग्न पनि आग्रह गर्नुभयो । आफूलाई झोले भन्नेहरू देख्दा मानिस भए पनि मानव मेसिन भएको टिप्पणी गर्नुभयो । ढुक्क भएर देशको अग्रगामी परिवर्तनको झण्डालाई माथि उठाएर हिँड्न आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.