‘आकर्षक विज्ञापनले सुर्तीजन्य पदार्थ प्रयोग नियन्त्रणमा चुनौती’

जेष्ठ १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘आकर्षक विज्ञापनले सुर्तीजन्य पदार्थ प्रयोग नियन्त्रणमा चुनौती’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्ती उद्योगहरूले आकर्षक तरिकाले भ्रामक विज्ञापन गर्दा सुर्तीजन्य पदार्थ प्रयोग नियन्त्रण चुनौतीपूर्ण भएको जनाएको छ । मन्त्रालयले मानव स्वास्थ्यका लागि घातक सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सबै क्षेत्रलाई साथ र सहयोग गर्न आग्रह गरेको हो ।

विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले धूमपान त्याग्नका लागि परामर्श दिन हटलाइनको सुरुआत गरेको छ । कुनै व्यक्तिलाई सुर्तीजन्य पदार्थको लत त्याग्न कुनै विधि आवश्यक भए ११४२ नम्बरमा फोन गरेर परामर्श लिन सकिने व्यवस्था मन्त्रालयले गरेको हो ।

सुर्तीजन्य पदार्थका कारण क्यान्सर, मुटु लगायत रोग लाग्ने गर्छ । नेपालमा धूमपानकै कारण बर्सेनि ३९ हजारको ज्यान जाने गरेको छ । अझै पनि २८ प्रतिशत पुरुष र ५ प्रतिशत महिलाले धूमपान गर्ने गरेको तथ्यांक छ । २८.९ प्रतिशतले कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रयोग गर्छन् । 

दिगो विकास लक्ष्य हासिल गर्न सन् २०३० सम्ममा यसलाई १५ प्रतिशतमा झार्नुपर्ने हुन्छ । यसका लागि सबै निकायको सहयोग आवश्यक रहेको मन्त्रालयको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.