नाकामा हुने अवैध व्यापार र तस्करी रोक्न सीसी क्यामेरा जडान

जेष्ठ १७, २०८२ |उपेन्द्र ठाकुर
नाकामा हुने अवैध व्यापार र तस्करी रोक्न सीसी क्यामेरा जडान

पर्सा । खुला सीमानाको फाइदा उठाउँदै हुने गरेको अवैध व्यापार तथा तस्करीविरुद्ध निगरानी बढाउन वीरगन्ज भन्सार कार्यालयले सीमाको विभिन्न ८ ठाउँमा सीसी क्यामेरा जडान गरेको छ । वाइफाइ जडित क्यामेराको माध्यमबाट जुनसुकै ठाउँमा बसेर सीमामा हुने गतिविधि निगरानी गर्न सकिने भएकोले अवैध कारोबार र अपराध नियन्त्रणमा मद्दत पुग्ने दाबी गरिएको छ ।

वीरगञ्जको शंकराचार्य गेटदेखि रजत जयन्ती पार्कसम्मको झन्डै पाँच सय मिटरमा पाँच ठाउँमा प्रहरीको जाँच हुन्छ । यसबाहेक बारा र पर्साको करिब ११४ किलोमिटर खुला सीमामा रहेका थाना, चौकी र पोस्टसँगै बाटोमा आकस्मिकरूपमा पनि प्रहरीले जाँच गरिरहेको हुन्छ । त्यतिले पनि नपुगेर गण्डकदेखि परवानीपुर हुँदै अमलेखगन्जसम्म ८-१० ठाउँमा राजमार्गमा सुरक्षा जाँचको नाममा प्रहरी उभिएको देखिन्छ । 

तर पनि अवैध कारोबार र तस्करी कम भएको छैन । अवैध गतिविधिमा यहाँ खटिने प्रहरीकै समेत मिलेमतो हुने गरेका घटना धेरै पटक सार्वजनिक भएका छन् । त्यसैले वीरगन्ज भन्सारले खुला सीमामा निगरानी गर्न ८ ठाउँमा सीसी क्यामेरा जडान गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजत्वमा रहेको राजस्व चुहावट नियन्त्रण समितिको बैठकको निर्णय अनुसार वीरगन्ज भन्सार कार्यालयले सीमामा थप निगरानी बढाउन शंकराचार्य गेटभन्दा अगाडि मितेरी पुलको पूर्व एउटा सीसी क्यामेरा लगाएको छ भने त्यसको दायाँबायाँ बलिरामपुर, इनर्वा, भकुवा, छपकैाया, सिर्सिया लगायतका आठ ठाउँमा सीसी क्यामेरा जडान गरिएको छ । 

यी क्यामेरा सशस्त्र र नेपाल प्रहरीको ड्युटी भएको पोस्टकै अगाडि राखिएको छ । वाइफाइ जडित यो क्यामेरालाई मोबाइलबाट नियन्त्रण गर्न सकिने भएकोले सीमामा हुने गतिविधिको निगरानी जहाँ बसेर पनि गर्न सकिन्छ ।

पहिलो चरणमा आठ ठाउँमा क्यामेरा जडान गरिएकोमा यसलाई बिस्तारै अन्य ठाउँमा थप्दै जाने भन्सारले जनाएको छ । वीरगन्ज भन्सारको बाटो भएर जति मात्रामा वैध कारोबार हुने गरेको छ, खुला सीमानाको दुरुपयोग गर्दै त्योभन्दा बढी अवैध व्यापार र तस्करी हुने गरेको व्यवसायीको दाबी छ । 

सुरक्षा जाँचको नाममा पाइलैपिच्छे प्रहरीको बाक्लो उपस्थिति देखिनुको मुख्य कारण पनि यस नाकाबाट हुने आर्थिक कारोबार नै हो । अब भने अवैध कारोबारी तथा तस्करहरूको क्रियाकलापलाई सीसी क्यामेराको निगरानीले नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।