कांग्रेस पदाधिकारी बैठक सभापति देउवा निवासमा बस्दै

जेष्ठ १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस पदाधिकारी बैठक सभापति देउवा निवासमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहान ९ बजेका लागि  बैठक बोलाइएको हो ।

क्रियाशील सदस्यताका विषयमा छलफल गर्न भन्दै सभापति देउवाले बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पदाधिकारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमाथि पनि प्रश्न उठेपछि मन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला बोलाइएको कांग्रेस पदाधिकारी बैठकलाई चासोका साथ हेरिएको छ । 

पदाधिकारी बैठकमा यस विषयमा पनि छलफल हुने बताइएको छ । यसअघि कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्रीलाई राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गर्नुभएको थियो । नेता कृष्णप्रसाद सिटौलाले भने कर्मचारी मुछिँदा मन्त्रीले राजीनामा दिनु नपर्ने बताउनुभएको थियो ।

उक्त प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख, गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई प्रक्राउ गरी अख्तियारले अनुसन्धान गरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.