सरकारलाई लिएर कांग्रेस-एमालेबीच बढ्दो असन्तुष्टि, प्रधानमन्त्री ओली र सभापति देउवा चाहिँ किन चुपचाप ?

जेष्ठ ६, २०८२ |दीपक आचार्य
सरकारलाई लिएर कांग्रेस-एमालेबीच बढ्दो असन्तुष्टि, प्रधानमन्त्री ओली र सभापति देउवा चाहिँ किन चुपचाप ?

काठमाडौं । सरकारका बारेमा नेपाली कांग्रेसका नेताहरु असन्तुष्टि पोखेका पोखै छन् तर सभापति देउवा केही बोल्नुहुन्न । यसैगरी, सरकारको नीति तथा कार्यक्रम होस् वा बजेटका प्राथमिकता र सिद्धान्तमाथिको छलफल कांग्रेसका पदाधिकारी सहभागी नभएकोमा एमाले सांसदमा संशय छ तर पार्टी अध्यक्ष एवं प्रधानमन्त्र केपी शर्मा ओली यो विषयमा बोल्दै बोल्नुहुन्न । दुवै नेताहरु विविधि विषयमा एकअर्कालाई भेटिरहन्छन् तर यी विषयमा चर्चा र छलफल भएको थाहा पाइँदैन । किन बोल्नुहुन्न देउवा अनि उहाँसँगको भेटमा के भन्नुहुन्छ प्रधानमन्त्री ?

अहिले प्रत्येक दिन नेपाली कांग्रेसका नेता हुन् वा एमालेका एकअर्का दलप्रति रवैया ठिक भएन भनेर प्रश्न प्रतिप्रश्न गरिरहेका हुन्छन् । सरकारको नीति तथा कार्यक्रम र बजेटको सिद्धान्त र प्राथमिकताको छलफलमा कांग्रेसका पदाधिकारीहरु सहभागी नभएको विषयलाई लिएर एमाले सांसदले संसदमै कुरा उठाए । 

यसैगरी, सरकार सञ्चालनको विषयलाई लिएर नेपाली कांग्रेसका नेताहरु संसदभित्र बाहिर बोलिरहेकै छन् । दुवै पार्टीका नेताहरु बोलिरहँदा शीर्ष नेताहरु भने यो विषयमा केही बोल्नुहुन्न । आखिर पार्टी नेताहरुले जोडतोडले उठाएको विषयमा कांग्रेस सभापति देउवा किन बोल्नुहुन्न ? अनि प्रधानमन्री केपी शर्मा ओली सभापति देउवासँगको भेटमा एमालेका नेताहरुले उठाएका विषयमा किन केही भन्नुहुन्न ?

के यी दुवै नेताहरु तत्ला तहका नेताहरुलाई एकअर्का दलभित्र बोल्न लगाएर आफूहरु मौन बस्नु भएको हो ? कि पार्टीभित्रको गुट सम्हाल्न नसक्नु भएको हो ?

गभर्नर नियुक्ति प्रकरणमा त झन् दुई दलबीचको विवाद सतहमै आयो ।

गभर्नर नियुक्ति मात्र होइन, कर्मचारीको सरुवा-बढुवादेखि राजनीतिक नियुक्ति लगायत समग्र सरकार सञ्चालनको विषयमा पनि दुई दलबीच विवाद छ । उकुसमुकुको अवस्था छ । भित्रभित्रै भूसको आगो जसरी फैलिएको विवाद दोस्रो र तेस्रो तहका नेताहरुबाट सार्वजनिक भइरहेको छ । 

विशेष गरी नेपाली कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालाबाट सरकारको नेतृत्वका विषयमा आलोचना हुँदै आएको छ । पछिल्लो समय त देउवा पक्षका भनेर चिनिने नेताहरु समेत सरकार सञ्चालन पद्दति ठिक नभएको र एमालेले एकलौटी गरेको भनेर बोलिरहेका छन् । कतिसम्म भने आफूहरु तीनै तहका सरकारमा हुँदा पनि पार्टी पंक्तिमा उत्साह नरहेको महामन्त्री थापाले सार्वजनिक रुपमै बताइसक्नुभएको छ ।

राजनीतिक स्थिरता कायम गर्दै संविधान संशोधन गर्ने र देशलाई समृद्धिको दिशामा अघि बढाउने संकल्पसहित दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार गठन भएको १० महिना पूरा भइसकेको छ । १० महिना हुँदै गर्दा संकल्प पूरा हुनु त कता हो कता एकअर्कालाई दोष लगाउने अवस्थामा पुगिसकेका छन् दुई दलका नेता ।

तर, नेतृत्व भने प्रधानमन्त्री भागवण्डा तय छँदैछ, मेरो भागको समय रहुन्जेल म खान्छु । १४ महिनापछि मैले पनि पाइहाल्छु भनेर सबै विवाद सुनेको नसुन्यै गरिरहेका छन् ।


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।