दाङ । लुम्बिनी प्रदेशसभामा सामूहिक कर, राजश्व संकलन गर्ने सम्बन्धमा बनेको विधेयक पेश भएको छ । प्रदेशसभाको छैठौं अधिवेशनको बिहीबार बसेको दोस्रो बैठकमा सरकारका तर्फबाट आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले विधेयक पेश गर्नु भयो ।
प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा सम्बोधन गर्दै नीति तथा कार्यक्रम, बजेटको तालमेल, चालू वर्षको बजेट कार्यान्वयनको अवस्थाका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभा सदस्यहरुले चालू वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन हुन नसकेकाले त्यसको समीक्षा गरिनुपर्ने माग गरेका छन् । प्रदेश सदस्यहरुले नीति तथा कार्यक्रम र बजेटबीच तालमेल हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी, प्रदेशसभा सदस्यहरुले कृषि र पशुपंक्षी क्षेत्रमा कुल बजेटको ३० प्रतिशत सुनिश्चित गर्न; सिँचाइ, जग्गाको सुरक्षा र हरियो मल उत्पादनलाई प्राथमिकता दिन; १५ शैय्याका आधारभूत अस्पताल सञ्चालनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।