काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले आगामी आर्थिक वर्षको बजेट जनसंख्या र मानव विकास सूचकांकका आधारमा मधेश/तराई तथा पिछडिएको क्षेत्रमा विनियोजन गर्नुपर्ने माग सरकारसँग राख्ने निर्णय गरेको छ ।
आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले बजेटमा आफ्नो माग राख्ने निर्णय गरेको हो ।
बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी हुनुहुन्थ्यो । साथै, मधेश केन्द्रित दलका नेताहरु हृदयेश त्रिपाठी, राम नरेश राय, वृषेशचन्द्र लाल, लालबीर चौधरी, केशव झा, शिवजी राय, शर्वेन्द्रनाथ शुक्ल, अब्दुल खान, अनिल महासेठ, सन्तोष मेहता, मनिष सुमन, ब्रजकिशोर सिंह, ज्ञानेन्द्र झा, रामकुमार शर्मा लगायतको उपस्थिति थियो ।
यसैगरी, बैठकले संविधान संशोधन, भूमि विधेयक, बन्दी रिहाई, मोर्चाको कार्यविधि र मोर्चाले आगामी दिनमा गर्ने कार्यक्रमहरुबारे सचिवालयले खाका बनाई अर्को बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ ।