योग्यताको आधारमा गभर्नर नियुक्त हुन्छ : प्रधानमन्त्री

जेष्ठ १, २०८२ |कान्तिपुर टीभी संवाददाता
योग्यताको आधारमा गभर्नर नियुक्त हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्त हुने बताउनुभएको छ । काठमाडौंमा आज आयोजित पूर्वयोजनाकार मञ्च नेपालको कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले निर्वाचन जितेर पनि पाँच वर्ष कसैले सरकारले चलाउन नपाएको भन्दै कहीँ नसके पनि अदालतमा लगेर पछार्ने प्रवृत्ति रहेको उल्लेख गर्नुभयो । नाम नलिइकनै उहाँले आफ्नो अघिल्लो कार्यकालमा विघटन गरेको संसद्लाई अदालतले ब्युँताइदिएको प्रसंगलाई उल्लेख गर्नुभएको हो ।

नेपाल अस्थिर देश भएको बताउँदै योजना आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अस्थिरता कहाँबाट आउँछ, कसले ल्याउँछ थाहा नहुने उल्लेख गर्नुभयो । अस्थिरता ल्याउनेहरूलाई देखे पनि झन् ठूलो विपद् आउनसक्ने भएकोले भन्न नसकिने प्रधानमन्त्रीको स्वीकारोक्ति छ ।

अवसर कोही कोहीलाई आइरहने भन्दै उहाँले १४ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई किस्तीमा राखेर प्रधानमन्त्री पद लिनुस् भनेर धुमधामसँग हस्तान्तरण गर्ने दोहोर्‍याउनुभयो ।

प्रधानमन्त्री ओलीले व्यवस्था अनुसार जनताको अवस्था पनि परिवर्तन भइरहेको दाबी गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.