काठमाडौं । संसद्को लेखा समिति अन्तर्गतको उपसमितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन समितिमा बुझाएको छ । २ सदस्यको फरक मतसहितको प्रतिवेदन उपसमितिले प्रतिवेदन बुझाएको हो ।
उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत अनुमानदेखि निर्माणका विभिन्न चरणमा अनियमितता भएको प्रतिवेदनमा उल्लेख गरेको छ । निर्माणका क्रममा १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको देखिएको भनिए पनि सम्वन्धित निकायले नै यसमाथि अनुसन्धान गर्ने उपसमितिका संयोजक राजेन्द्र लिङदेनले बताउनुभयो । उहाँले नीतिगत र प्रक्रियागत रुपमै भ्रष्टाचार भएको ठहर उपसमितिको रहेको पनि बताउनुभयो ।
प्रक्रियागत रुपमा कमजोरी रहेको र सम्वन्धित व्यक्तिहरुसँग छलफल नगरिएको लगायतका विषयमा आफूहरुको चासो रहेको भन्दै एमालेका दुई सांसदहरु गोकुल बास्कोटा र तारा लामाले प्रतिवेदनमा फरक मत राखेका छन् ।
उपसमितिमा रहेका एमालेका दुई सदस्य गोकुल बाँस्कोटा र तारा लामाले लिखित रुपमै फरक मत बुझाएका हुन् । सांसद बाँस्कोटाले विमानस्थल निर्माणको प्रारम्भिक लागत अनुमान १ सय ४५ मिलियन अमेरिकी डलर रहेकोमा तत्कालीन सरकारले भ्याटबाहेक २ सय १५ मिलियन अमेरिकी डलर बनाएकोमा प्रश्न उठाउनु भएको छ ।
राजस्व छुटसम्वन्धी विवाद, निर्माणका कतिपय कार्य सम्पन्न नभएको र प्राविधिक परीक्षणसमेत पूर्णरुपमा नभएको अवस्थामा उद्घाटन र हस्तान्तरण कुन आधारमा किन र कसरी गरियो भन्ने यकिन गरेर आवश्यक कानुनी कारबाहीको सिफारिस गर्नेुपर्ने राय बाँस्कोटाको छ ।
त्यस्तै, एमालेकै अर्का सांसद तारा लामाले ६ बुँदे फरक राय पेस गर्नुभएको छ । लामाले सरोकारवालासँग थप छलफल गरेर वैज्ञानिक रुपमा तथ्यपरक विश्लेषण गर्दै प्रतिवेदन बनाउनुपर्ने, प्राविधिकहरुको सहयोग लिएर मात्र आधिकारिक निष्कर्ष निकाल्नुपर्ने र आशंका भएका विषयमा थप अध्ययन गरी कारबाहीका लागि सिफारिस गर्नुपर्ने राय दिनुभएको छ ।
उपसमतिमा लिङदेनसहित अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, अमनलाल मोदी, प्रेमबहादुर आले, तारा लामा, दीपक गिरी, देवप्रसाद तिमिल्सिना र रामकृष्ण यादव सदस्य छन् । उपसमितिले बुझाएको प्रतिवेदनमाथि समितिमा छलफल हुनेछ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा २४ अर्ब रुपैयाँ खर्च भएको थियो भने २०७९ पुसमा उद्घाटन गरिएको थियो ।