काठमाडौं । सांसदहरुले शिक्षक आन्दोलनमा सरकारले दमन गरेको भन्दै विरोध जनाएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा सत्ता र विपक्षी दलका सांसदहरुले शिक्षकका माग पूरा गर्न गम्भीर नेदेखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरुले आन्दोलनमा उत्रिएका शिक्षकका मागका विषयमा सरकार किन गम्भीर नदेखिएको भन्दै प्रश्न गरेका छन् । माओवादी केन्द्रका सांसद जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकका उचित र जायज माग पूरा गर्दै विद्यालय सञ्चालनको वातावरण बनाउन सरकारसँग माग गर्नु भयो ।
सत्तारुढ दलका सांसदहरुले पनि शिक्षकले झन्डै तीन महिनादेखि जारी राखेको सडक आन्दोलनलाई वार्ताबाट समाधान गर्न सरकारलाई सुझाव दिएका छन् । सरकार र आन्दोलनरत शिक्षकबीच भइरहेको सहमतिको प्रयासबारे सदनमा जानकारी दिन नेकपा एमालेका सांसद सूर्य थापाले माग गर्नुभयो ।
प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरुले शिक्षकका मागबारे सदनमा छलफल गर्नुपर्ने भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव समेत दर्ता गराएका छन् ।
सांसदहरुले वर्षाले विभिन्न स्थानमा पुर्याएको क्षतिका बारेमा समेत सदनको ध्यानाकर्षण गराएका छन् ।