काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबीच कुनै विवाद नरहेको बताउनुभएको छ । उहाँले सत्ता समीकरण परिवर्तनको हल्लामा कुनै सत्यता नभएको दाबी गर्नुभयो ।
थाइल्यान्डबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले सत्ता गठबन्धन दलबीच कुनै खटपट नरहेको बताउनुभएको हो । सत्ता समीकरण परिवर्तनको हल्लामा पनि कुनै सत्यता नरहेको उहाँको भनाइ थियो । देउवासँगै फर्किएकी परराष्ट्रमन्त्री आरजु राणाले पनि सत्ता परिवर्तनका लागि आफूहरु थाइल्यान्ड गएको भनेर हल्ला मात्र चलाइएको बताउनुभयो ।
परराष्ट्रमन्त्री राणाले सरकारका विषयमा हिजो बेलुका मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच कुरा भएको जानकारी दिनुभयो । यही ७ गते बैंकक जानुभएका सभापति देउवा र परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कनुभएको हो ।