काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते एकीकरण हुने भएको छ । दुई पार्टीबीचको एकतापछि नयाँ पार्टीको नाम ‘जनमत नागरिक पार्टी’ राख्ने सहमति भइसकेको छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले यही वैशाख १७ गते दुई पार्टीबीच हुने एकताको सबै तयारी पूरा भइसकेको जनाउनु भएको छ । नयाँ पार्टीको अध्यक्ष सीके राउत र सहअध्यक्ष नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ रहनुहुनेछ ।
पार्टीको संरक्षक भने नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरी रहने सहमति भएको छ । नयाँ पार्टीको चुनाव चिन्ह अहिले नागरिक उन्मु्क्ति पार्टीले प्रयोग गरिरहेको ढकिया राख्ने सहमति पनि भइसकेको छ ।
पार्टीको केन्द्रीय सदस्यहरु भने दुवै पार्टीमा अहिले रहेका केन्द्रीय सदस्यहरुलाई नै समेट्ने तय भएको छ । दुई पार्टीबीच एकता भएर बनेको नयाँ पार्टी संसद्को पाँचौं शक्ति हुनेछ । अहिले प्रतिनिधिसभामा जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् ।