बाँके । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । नेपालगन्जमा शुक्रबार भएको फाइनलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले गोल अन्तरले पराजित गर्यो । १० मिनेट थपिएको इन्जुरी समयको अन्तिम मिनेटमा गीता रानाले हेड गोलमार्फत टोलीलाई उपाधि दिलाउन सफल भइन् ।
आठ टोली सहभागी प्रतियोगिताको विजेता एपीएफले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता नेपाल पुलिसले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । पहिलो पटक आयोजना भएको लुम्बिनी कपमा घरेलु टोली बाँके-११, सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लब सहभागी थिए ।