काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने समाचार मन्त्रिपरिषद्को निर्णय हुनुभन्दा पहिले सञ्चारमाध्यममा आएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हक सम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले मन्त्रिपरिषद्को बैठक सकिनुभन्दा १८ मिनेट अगाडि नै कुलमानलाई पदबाट हटाएको समाचार अनलाइन माध्यममा प्रकाशित भइसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “क्याबिनेटको बैठक चलिरहेको छ, कुलमान जीलाई हटाउने निर्णय गरेको बैठक सकिनुभन्दा १८ मिनेट अगाडि नै आइसक्यो अनलाइनहरूमा । त्यहाँ मन्त्रीहरू र मुख्यसचिव बाहेक अरू कोही छैन । कसले भन्यो त त्यो ? मैले प्रधानमन्त्री ज्यूलाई प्रश्न गरे, कसले भन्यो ? कि तपाईंले भन्नुभयो कि ? कि तपाईंका माननीय मन्त्रीज्यूहरूले भन्नुभयो कि ? कि मुख्यसचिवले भन्नुभयो ? कसैले त भन्यो ?”
उहाँले कुन मन्त्री अनलाइनको समाचारदाता हो भनेर पनि प्रश्न गरेको बताउनु भयो । उहाँले मन्त्रिपरिषद् बैठकमा मोबाइल बाहिर राखेर आउन मन्त्रीहरूलाई आग्रह गरेको समेत बताउनु भयो ।
मन्त्री गुरुङले सरकारले गरेको निर्णयहरू कुनै बेला फिर्ता लिनुपर्ने हुनाले २४ घण्टापछि मात्रै मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने निर्णय गरिएको स्पष्ट पार्नुभयो । उहाँले आफू निजी विचार राख्न प्रवक्ता नभएको बताउनु भयो ।