पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति एमालेको आपत्ति

वैशाख १, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति पनि आपत्ति जनाएको छ । यसैगरी, एमालेले अहिलेको अवस्थामा सरकार परिवर्तनको कुनै सम्भावना नरहेको दाबी गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आज बसेको सचिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको सरकार परिवर्तनको अभिव्यक्तिलाई आधारहीन र सत्ता बाहिर हुँदाको पीडा भनेको हो ।

बैठकले राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने आस राखेर पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्ति आएको तर त्यस्तो सम्भावना नरहेको ठहर गरेको छ ।

एमालेले वैशाख ९ गते स्थापना दिवस मनाउने र ११ गते लोकतन्त्र दिवसका दिन काठमाडौंमा सेलिब्रेसन सफल बनाउने निर्णय पनि गरेको छ । नेकपा एमालेले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय बैठकले गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

एमालेले कञ्चनपुरका लालबहादुर विश्वकर्मा, जाजरकोटका स्वर्गीय रत्न शर्मा न्यौपाने, दाङका शोभारम बस्नेत, गोरखाका बाचस्पति देवकोटा, काठमाडौंकी शान्ता मानवी, सप्तरीका सत्यनारायण मण्डल र झापाका हरिचरण शिवाकोटीलाई सम्मान गर्ने भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.