नेपालगन्जमा वीपी कोइरालाको शालिकमाथि कालो पोतिएको घटनामा राप्रपाले माग्यो माफी

चैत्र २४, २०८१ |जे पाण्डे
नेपालगन्जमा वीपी कोइरालाको शालिकमाथि कालो पोतिएको घटनामा राप्रपाले माग्यो माफी

बाँके । नेपालगञ्जको विपी चोकमा राँके जुलुस प्रदर्शन गर्ने क्रममा नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री वीपी कोइरालाको शालिकमा कालोपोतोजस्तो कपडाले ढाकेको घटनालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले भवितव्य भन्दै माफी मागेको छ ।

आज राप्रपा नेपागञ्जका अध्यक्ष हुकुमसिंह केसीले जारी गरेको  विज्ञप्तिमा भनिएको छ, 'वीपी कोइराला सबैका जनप्रिय नेता भएको र उहाँप्रति सधैं सम्मान र विश्वास रहेकाले २३ गतेको घटना भवितव्य भएको र त्यस घटनाबाट कुनै राजनीतिक दल र व्यक्तिको आस्थाप्रति ठेस लागेको भए क्षमाप्रार्थी छौं ।'

यसअघि नेपाली कांग्रेस, बाँकेले राजावादीहरुले नेपालगञ्जको वीपी चोकको जननायक वीपी कोइरालाको शालिकमा कालो कपडाले ढाक्ने र कालोपोतो दल्ले कार्य गरेको भन्दै निन्दा गरेको थियो । राप्रपाका कार्यकर्ताले चैत १५ गतेको तीनकुने घटनाका क्रममा पक्राउ परेका आफ्ना नेताको रिहाइको माग गर्दै शनिबार साँझ वीपी चोकमा राँके जुलुस प्रदर्शन गर्ने क्रममा वीपी कोइरालाको शालिकमा कलो पोतेका थिए ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।