ठूला दलका शीर्ष नेताहरूले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन् : गगन थापा

जेष्ठ १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
ठूला दलका शीर्ष नेताहरूले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका ठूला राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिएको दिनदेखि नै अहिलेका असन्तुष्टिहरू हट्ने बताउनुभएको छ । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले राजनीतिक दलका नेताहरूले नेतृत्वबाट विश्राम लिन नसक्नु नै लोकतन्त्रको सबैभन्दा ठूलो समस्या रहेको बताउनुभयो ।

उहाँले गणतान्त्रिक संस्कृतिको कुराकानी गर्दा अहिलेको समस्या लामो समयदेखि एउटै अनुहार शासन सत्तामा देखिनु रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले गणतान्त्रिक संस्कृतिको कुराकानी गर्‍यौं । अहिलेको समस्या भनेको राजनीतिक दलहरूमा विरलै मात्र हुन्छ होला । यति लामो समयसम्म समाजले अस्वीकार गरेको एउटै भूमिकामा, एउटै अनुहारमा देखिरहेका छौं । हाम्रो डेमोक्रेसीको सबैभन्दा ठूलो समस्या यही हो । नेपालका ठूला पार्टीका ठूला नेताहरूलाई रेस्पेक्ट गर्छु म । आजको दिनबाट हामीले आफ्नो आफ्नो तहबाट विश्राम लिन्छौं भन्नुभएको दिनबाट आजै बेलुकाबाट यो आन्दोलन झर्छ । भोलिबाट सबै घर फर्किन्छन् । केही पनि बाँकी रहँदैन । त्यसको सबै सुध्रिन्छ भन्ने होइन । त्योभन्दा धेरै समस्या छन् ।”

महमन्त्री थापाले शीर्ष नेताहरूले नेतृत्व छोड्ने बित्तिकै सबै समस्या समाधान भने नहुने तर धेरै समस्या बुझेर समाधान गर्न सकिने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.