काठमाडौं । संघीय संसदको दुवै सदनबाट सरकारले अध्यादेशलाई प्रतिस्थापन गरी ल्याएका पाँच वटा विधेयक पारित गरेको छ ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संघीय संसदको दुवै सदनको बैठक अवरुद्ध गरेसँग सरकारले अघि बढाएको विधेयक अल्झिएर बसेका थिए । सरकारले प्रतिनिधिसभाबाट अघि बढाएको विधेयक राष्ट्रियसभामा आएर अड्किएर बसेका थिए ।
राष्ट्रियसभाबाट पारित भएको विधेयक संदेशसहित प्रतिनिधिसभाबाट पारित भएसँगै अब राष्ट्रपतिले प्रमाणीकरणपछि कानुन बन्नेछ । आजको राष्ट्रियसभाबाट विधेयक पारित हुनुअघि सांसदहरुले पेस गरेको संशोधनमा सांसदहरुले आ-आफ्ना भनाइ राखेका थिए ।
सरकारले माघ १८ गते अध्यादेशमार्फत पाँचवटा विधेयक पेस गरेको थियो । सरकारले अध्यादेशमार्फत ल्याएको ६ वटामध्ये भूमि सम्बन्धी विधेयकबाहेक पाँचवटा पारित भएको छ भने भूमि सम्बन्धी विधेयक सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी नेपालले विरोध गरेपछि सरकारले तत्कालका लागि स्थगन गरिसकेको छ ।
संघीय सदनबाट सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी विधेयक, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोसन गर्ने विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक, निजीकरण विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी विधेयक पारित भएको हो ।