काठमाडौं । नेकपा (नेकपा माओवादी केन्द्र) की सांसद रेखा शर्माले संविधान र वर्तमान व्यवस्थालाई बलियो र सुदृढ बनाउनको लागि लोकतन्को सर्भिसिङ आवश्यक रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उहाँले मुलुकमा सुशासन कायम गर्न सकेमात्र लोकतन्त्र सुदृढ हुने उहाँको भनाइ छ । उहाँले सरकारमा बसेर भ्रष्ट र बिचौलियाको पक्षमा काम गर्ने कुराले लोकतन्त्र झनझन कमजोर हुँदै जाने बताउनु भयो । उहाँले वर्तमान सरकार विचौलिया पोस्ने दिशामा अगाडि बढिरहेको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘संविधानलाई बलियो बनाउन, व्यवस्थालाई बलियो र सुदृढ बनाउनको निम्ति लोकतन्त्रको सर्भिसिङ आवश्यक छ । त्यो भनेको के हो त भन्दा सरकारले गर्ने सुशासनका कामहरू हो । सरकारमा बसेर सरकार सञ्चालन गर्ने बेलामा भ्रष्ट र विचौलियाको पक्षमा काम नगर्ने कुराले मात्र लोकतन्त्र बलियो बनाउन सकिन्छ सभामुख महोदय । तर यस्तो हुन सकिरहेको छैन ।’
उहाँले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको सन्दर्भमा प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै खेद व्यक्त गर्नुभयो ।