गृहमन्त्री रमेश लेखकद्वारा तीनकुने क्षेत्रको अनुगमन, कान्तिपुर टेलिभिजन कार्यालयको पनि निरीक्षण

हिंसामा संलग्नलाई कारबाही गरेरै छाड्ने प्रतिवद्धता
चैत्र १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्री रमेश लेखकद्वारा तीनकुने क्षेत्रको अनुगमन, कान्तिपुर टेलिभिजन कार्यालयको पनि निरीक्षण

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधरहरुले काठमाडौंको तीनकुने क्षेत्रमा हिजो गरेको आगजनी र हिंसात्मक घटनामा भएको क्षतिको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।

मन्त्री लेखकले काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरहरूले आगजनी गरेर ध्वस्त बनाएको घर निरीक्षण गर्नुभएको हो ।

यही घरमा एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको जलेर मृत्यु भएको थियो । यसैगरी गृहमन्त्री लेखकले राजतन्त्र पक्षधरले आक्रमण गरेर क्षति पुर्‍याएका तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालय, अन्नपूर्ण पोस्टको कार्यालय, भाटभटेनी सुपरमार्केट, नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा पुगेर पनि अनुगमन गर्नुभयो ।

मन्त्री लेखकले राजतन्त्र पक्षधरले हिजो गरेको प्रदर्शनका पछाडि कुनै दल र राजनीतिक चेतना भएका मानिसको संलग्नता नरहेको भन्दै आपराधिक घटनामा संलग्नहरुलाई कानुनको दायरामा ल्याएर कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गृहमन्त्री लेखकले हिजोको प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारको व्यवस्था सरकारले गर्ने जानकारी पनि दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.