काठमाडौं । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले पुर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाउनुभएको छ ।
सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेको भन्दै उहाँलाई दिएको सेवा सुविधा कटौति गर्नेबारे सोच्नुपर्ने बताउनु भयो ।
उहाँले पूर्वराजाले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेकोले उहाँलाई दिइएको सेवा सुविधा कायम रहन्छ कि रहँदैन ? भन्दै प्रश्न गर्दै सरकारसँग जवाफ माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पूर्वराजा शाहलाई सरकार पूर्वराष्ट्राध्यक्षको हिसावले यो राज्यले सेवा सम्मान दिन्छ भनेर दिएको हो । आज त्यो सम्झौता पनि ज्ञानेन्द्र शाहले भंग गर्नुभयो । त्यसैले आज म यो संसदमार्फत प्रश्न गर्न चाहन्छु । सम्झौता भंग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुदैन ? म सरकारलाई सोध्न चाहान्छु । उहाँले सम्झौता भंग गर्नुभयो । उहाँले लफंगाहरुलाई जनकमाण्डर बनायो । तीनकुनेमा ताण्डव नृत्य नचाउन पठाउनु भयो । म फेरि भन्छु । निर्मल निवासबाट लफंगाहरुलाई माला लगाएर जनताको घर जलाउन पठाउनु भयो । तपाईको सम्झौता भंग भयो । त्यसैले तपाईलाई दिइएको सेवासुविधा के हुन्छ ? सरकारले जवाफ दिनुपर्यो ।’
उहाँले पृथ्बीनारायण शाह र बहादुर शाह बाहेकका राजाले राष्ट्र जोगाउने काम गर्न नसकेको बताउनु भयो । उहाँले नेपालको सीमाना कहाँ थियो आज कहाँ छ ? भन्दै प्रश्न गर्नुभयो ।