भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौं महाधिवेशन भक्तपुरमा जारी छ । महाधिवेशनको दोस्रो दिन भक्तपुरको लिवालीस्थित ओल्ड दरबार पार्टी प्यालेशमा महाधिवेशन प्रतिनिधि एंव जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरूलाई पहिलो सत्रमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिक प्रशिक्षण दिनुभएको छ ।
दोस्रो सत्रमा भने जिल्ला, प्रदेश र केन्द्रीय नेता तथा जनवर्गीय संगठन प्रमुखहरूले प्रतिवेदन पेश गर्ने र त्यस प्रतिवेदनमाथि छलफल हुने नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंले जानकारी दिनुभयो । सोही प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्ययोजना र नीति तथा कार्यक्रम तयार हुने बताइएको छ । महाधिवेशनमा ५० जिल्लाबाट करिब ३ सय महाधिवेशन प्रतिनिधि सहभागी भएका केन्द्रीय सदस्य गोसाईंले बताउनुभयो । फागुन १९ गतेसम्म आयोजना हुने आठौं महाधिवेशनले पार्टीको नेतृत्व चयन गर्नेछ ।
अध्यक्ष नारायणमान बिजुक्छेको नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदूर किसान पार्टीको स्थापना भएको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो । पार्टीको सातौं महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छेलाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ ।
यसअघिको सातौं महाधविशेनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । जसमा २३ केन्द्रीय र दुई जना वैकल्पिक केन्द्रीय सदस्य रहेका थिए । यस वर्ष महाधिवेशनले बिजुक्छेलाई नै अर्को कार्यकालका लागि चुन्ने हो वा नयाँ नेतृत्व आउने हो भन्ने चासो सर्वत्र छ ।