काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्य एमालेकरण भइरहेको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा आज प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरूको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले कांग्रेस कमजोर बन्दै गइरहेको र सरकार पनि एमालेकरण हुँदै गर्दा सचेत बन्न आग्रह गर्नुभयो ।
“राज्य नै एमालेकरण भइरहेको छ कि भन्ने देखिरहेको छु । सरकार नै एमालेकरण भइरहेको छ कि भन्ने हो । त्यसलाई हामीले कसरी व्यवस्थापन गर्ने भन्नेतिर सोच्नुपर्छ । मन्त्रीज्यूहरूले सहकार्य गर्ने हो त्यसमा कुनै शंका नै भएन । तपाईं हामीले खबरदारी गरिरहनुपर्छ । र मात्रै हाम्रा मन्त्रीहरू सचेत हुनुहुन्छ र एमाले पनि सचेत हुन्छ”, नेता कोइरालाले भन्नुभयो ।
नेता कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने पनि बताउनुभयो । तर सभापति लामिछानेमाथि भएको मानवअधिकार उल्लंघनबारे सरकार पन्छिन नमिल्ने उहाँको भनाइ छ । सहकारीको रकम हिनामिना गरेको प्रकरणमा केही समयअघि सभापति लामिछानेलाई रातारात पोखरा पुर्याइएको घटनाप्रति आपत्ति जनाउँदै नेता कोइरालाले सुरक्षा चुनौती देखाएर सरकारले मानव अधिकारको उल्लंघन गरेको बताउनु भयो ।
नेता कोइरालाले पार्टीको महाधिवेशनको टुंगो नलागेको प्रति आपत्ति जनाउँदै समयमै महाधिवेशन गर्न सामाजिक सञ्जालबाट दबाब दिन आफू निकट नेता/कार्यकर्तालाई दबाब दिनुभयो ।