काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश पारित गर्न गठबन्धन दलसँग भइरहेको छलफलमा सत्ता मोलमोलाइ नगरेको दाबी गर्नुभएको छ ।
जसपा नेपाल संसदीय दलको सिंहदरबारमा आज बसेको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष यादवले केही व्यक्तिले भ्रम फैलाउन खोजेको दाबी गर्नुभयो ।
सत्तारुढ दलकै नेताहरूले मधेश प्रदेशको मुख्यमन्त्री वा संघमा उपप्रधान सहित महत्त्वपूर्ण मन्त्रालय चाहिने आशय राखेको भनेको प्रति लक्षित गर्दै अध्यक्ष यादवले त्यसलाई फोहोरी र फटाहा कुराको संज्ञा दिनुभयो ।
अध्यक्ष यादवले अध्यादेशबारे उपयुक्त समयमा निर्णय लिने बताउनुभयो । जुन दिन सरकारले अध्यादेश सदनमा लैजान्छ, त्यसै दिन बिहान आफ्नो दलले निर्णय लिने उहाँको भनाइ थियो । जसपा नेपालको आज बसेको संसदीय दलको बैठकमा अध्यादेशबारे छलफल भए पनि कुनै निर्णय भने भएन ।