काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संसद्मा पेश भएका अध्यादेशहरूलाई निर्णयार्थ पेश गरेर प्रतिनिधि सभाबाट आज नै पारित गराउने तयारी सत्ता गठबन्धनले गरेपछि प्रमुख प्रतिपक्षी दलहरूले रोक्ने रणनीति बनाएका छन् ।
संसद्मा प्रतिनिधित्व गर्ने मुख्य पाँच दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले हिजो गरेको छलफलमा सरकारले पेश गरेका ६ वटा अध्यादेशमाथि सदनमा दर्ता भएका अस्वीकारको सूचनालाई निर्णयार्थ पेश गर्ने सहमति भने जुटेको छ । अध्यादेश अस्वीकार गर्नेहरूको तर्फबाट सामूहिक प्रस्ताव पेश गर्ने र हरेकलाई तीन मिनेट समय दिने तयारी सरकारको छ । त्यसपछि आज नै प्रतिनिधि सभाबाट पारित गर्ने तयारी सत्ता पक्षको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले सहित सरकारलाई समर्थन गरेका दलहरू संघीय संसद्को दुवै सदनबाट अध्यादेश पारित गराउने रणनीतिमा छन् ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र सहितका विपक्षी मोर्चामा रहेका रास्वपा, एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा भने अध्यादेश दुवै सदनबाट अस्वीकार गरेर जानुपर्नेमा उभिएका छन् । प्रतिनिधि सभामा अध्यादेश पारित गरेर अघि बढ्नका लागि कांग्रेस एमालेको बहुमत संख्या रहे पनि राष्ट्रिय सभामा सरकारलाई समर्थन गरेका जसपा नेपाल असन्तुष्ट छ । अध्यादेशलाई असफल गराउने रणनीतिमा जुटेका विपक्षी दलले जसपा नेपालका नेताहरूसँग पनि छलफल गरेका छन् ।
सत्तापक्षले भने राष्ट्रिय सभाबाट पनि सहज पारित गर्न जसपा नेपाललाई मनाउने प्रयास गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच यसबारे छलफल समेत भएको छ ।
अध्यादेश पास र फेल गराउने रणनीतिमा जुटेका सत्तापक्ष र विपक्षी दलले आजको राष्ट्रिय सभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन समेत दिएका छन् ।
संसद् बैठक नियमित रूपमै अघि बढ्नेमा भने दलहरूबीच सहमति भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यतालिका छ ।