अछाम । नेकपा एमालेबाट साधारण सदस्यसमेत नरहने गरि कारबाहीमा परेपछि डा. भीम रावल पहिलोपटक गृह जिल्ला आइपुग्नुभएको छ । शनिबार बिहान अछामको साँफेबगरमा कोणसभा गर्दै रावलले सशक्त मुलधारको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने दाबी गर्नुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैले आवाज उठायो भने पार्टीबाट हटाइदिन्छु भन्ने गरेको भन्दै रावलले सत्ताको उन्मादले ओलीमा निरंकुशता र तानाशाही प्रवृति चढेको बताउनु भयो । नेपालमा कुनै पनि तानाशाह बचेको इतिहास नभएको भन्दै रावलले आफ्ना स्वच्छाचारी निर्णयहरू जनताले मान्छन् भनेर सपना नदेख्न ओलीलाई चेतावनी पनि दिनुभयो ।
देश तथा विदेशमा बस्ने थुप्रै नेपालीले आफ्नो अभियानमा संगठित हुने प्रतिवद्धता जनाएको रावलको दाबी छ । आफू एमालेको सदस्य बनेको ४९ वर्ष भएको सुनाउँदै रावलले पार्टीबाट निकाल्दा दु:ख लागेको बताउनु भयो । निरंकुशता, स्वच्छाचारीता र तानाशाही प्रवृतिको आहालमा डुबेका व्यक्तिहरुको विकल्प शक्तिको निर्माण परिवर्तनकारी युवाहरुले चाहेको भन्दै रावलले त्यसको नेतृत्व आफूले गर्ने बताउनु भयो ।