काठमाडौं । ६ महिना भइसक्दा पनि अपेक्षित काम गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहँदा सत्ता साझेदार नेपाली कांग्रेसका मन्त्रीहरूले नेकपा एमालेको नेतृत्वसँग काम गर्न कहीं न कहीं समस्या हुने गरेको गुनासो गरेका छन् । फटाफट काम गर्न नपाएको, अघिल्लो सरकारले ल्याएको बजेटभित्र खुम्चिनु परेको र नयाँ योजना ल्याउन नमिलेको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूको गुनासो छ ।
नेतृत्वले भने गठबन्धनमा अविश्वास हुने अवस्था नल्याउन र सातामा पाँच दिन मन्त्रालयको अनि दुई दिन पार्टी र जनताको काममा ध्यान दिन निर्देशन दिएको छ ।
सात बुँदे सहमति अनुसार एमालेको नेतृत्वमा कांग्रेस सहितको सरकार बनेको ६ महिना भइसक्दा पनि अपेक्षित परिणाम दिन नसकेको भन्दै कांग्रेसकै एउटा समूह असन्तुष्ट छ । त्यसो त कांग्रेसकै कतिपय मन्त्रीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा काम गर्न त्यति सजिलो नभएको गुनासो गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार पार्टीबाट सरकारमा सामेल १० मन्त्री र २ राज्यमन्त्रीलाई बोलाएर कामकारबाहीबारे जानकारी लिनुभएको हो । जहाँ कतिपय मन्त्रीहरूले एमालेसँग काम गर्दा कहीं न कहीं समस्या हुने गरेको गुनासो गरे ।
“ सोचे अनुसार काम जति छिटो हुनुपर्ने हो, त्यो कुरा कुनै न कुनै कारणबाट अप्ठ्यारो भएको महसुस हाम्रा साथीहरूले गरेका छन्”, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताउनुभयो ।
संसदीय कार्य समिति सहितको बैठक बोलाएर कांग्रेसले सबै मन्त्रीहरूसँग ६ महिनाको कामको हिसावकितामा मागेको हो । कांग्रेसका अधिकांश मन्त्रीहरूले अर्को सरकारले ल्याएको नीति तथा कार्यक्रमका आधारमा बनेको बजेट अनुसार काम गर्नुपरेको, प्रधानमन्त्री केपी शर्मा ओलीबाट पर्याप्त सहयोग नपाएको र आफूसँग कार्यक्रम र काम गर्ने हुटहुटी भए पनि कानुनी समस्या र बजेट नभएको गनुासो गरेका थिए । पार्टी सभापति सहितका पदाधिकारीले भने अहिले अवस्था र बजेट अनुसार जति काम गर्न सकिन्छ त्यसलाई नतिजामुखी बनाउन निर्देशन दिएका थिए ।
“मन्त्रीहरूले काम गर्ने कुरामा, काम गर्ने विषयमा धेरै ठूलो समस्या छैन । कहीं कहीं कानुनका अभावले, संयोजनका अभावले समस्या देखिएका होलान् । त्यसलाई हामी पार्टीगत रूपमा, संयन्त्रका माध्यमबाट र दुवै पार्टीबीच बसेर समन्वयका हिसावले यसलाई फुकाउँदै लगेर हामी कामको गतिलाई अगाडि बढाउँदै लैजान्छौं”, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताउनुभयो ।
पछिल्लो समय कांग्रेस र एमालेबीच भित्रीरूपमा खटपट भएको समेत चर्चा चलिरहँदा मन्त्रीहरूले भने गठबन्धनको बचाउ गरेका छन् ।
बैठकले कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले अब हप्तामा दुई दिन पार्टी केन्द्रीय कार्यालयमा गएर नेता तथा कार्यकर्ता र सर्वसाधारणको गुनासो सुन्न पनि निर्देशन दिएको छ । त्यसका लागि मन्त्री हप्तामा ५ दिन मन्त्रालयमा र २ दिन कार्यालयमा खटिनुपर्ने छ । कांग्रेस नेतृत्वले सांसदको चासो, सुझाव र अपेक्षालाई समेत समन्वय गर्न मन्त्रीहरूलाई निर्देशन दिएको छ ।