काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योजना बनाउँदा उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभएको छ ।
आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सिर्जनामा लाग्नुपर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रका ठूला उत्पादन र लगानी वृद्धि गर्न आग्रह समेत गर्नुभएको हो । जनतालाई कर्मशील बनाउन प्रेरित गर्ने र गरिबी घटाउने कामलाई पहिचान गर्दै उत्पादन र उत्पादकत्व बढाउने ठोस योजना ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन–मूल्याङ्कन, उद्यमशीलताको विकास र जनताको सेवा प्रवाह एवम् सुशासनमा सकारात्मक प्रभाव पर्ने काममा लाग्न समेत आग्रह गर्नुभयो ।
छलफलमा आयोगका उपाध्यक्ष शिवराज अधिकारीले १६ औं योजनाको कार्यान्वयन, यसका चुनौती, राष्ट्रिय आयोजना बैंकको नयाँ मापदण्ड र परिमार्जन लगायतका विषयमा जानकारी दिनुभयो ।