काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन आउन अझै एक वर्ष बाँकी छ । विधानअनुसार कांग्रेसको १५औं महाधिवेशन आगामी वर्षको मंसिरमा हुने छ । तर नेताहरुलाई अहिलेदेखि नै महाधिवेशनले छोइसकेको छ । पार्टीमा गुट फेरबदलदेखि समानान्तर गतिविधि तीव्र भएका छन् । नेताहरु आ–आफ्नै गुटका भेला र कार्यक्रममा रमाइरहँदा मूल पार्टीका कार्यक्रम भने ओझेलमा परेका छन् ।
कांग्रेसको विधानमा लगातार दुई पटकभन्दा बढी सभापति बन्न नपाइने व्यवस्था छ । अब शेरबहादुर देउवाले प्रतिस्पर्धा नगर्ने भएपछि सभापतिका आकांक्षीहरु अहिलेदेखि नै महाधिवेशन केन्द्रित गतिविधिमा लागेका हुन् । १४ औं महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइराला १५ औं महाधिवेशनबाट नेतृत्वमा आउने उद्घोषसहित समानान्तर गतिविधि र देश दौडाहा गरिरहनुभएको छ । उहाँले देउवा समूहका नेताहरुलाई पनि आफ्नो पक्षमा पार्ने प्रयास गरिरहनुभएको छ ।
१४ औं महाधिवेशनमा पुस्तान्तरणको नारासहित निर्माण भएको शेखर कोइराला र गगन थापा समूह अहिले विभाजित जस्तै छ । नेता कोइराला र महामन्त्री थापा छुट्टाछुट्टै तरीकामा हुनुहुन्छ । यता, देउवा निकट मानिएका पूर्णबहादुर खड्का, कृष्ण सिटौलालगायतका नेता नेतृत्वमा पुग्ने अभिलाशासहित जिल्ला दौडाहा बढाइरहेका छन् । प्रकाशशरण महत, एनपी साउदलगायतका नेता आफ्नो शक्ति परीक्षणका क्रममा छन् ।
‘देशभर साथीभाईको बीचमा जाने हो । उहाँहरूले मूल्यांकन गरिहाल्नुहुन्छ । अहिले देखिनै म यो पदमा लड्दैछु भनेर हिड्न आवश्यक ठान्दिन,’ नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महतले भन्नुभयो ।
त्यसो त पूर्वउपसभापति विमलेन्द्र निधि तथा पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र शंशाक कोइरालाले पछिल्लो समय निकटता बढाइरहेका छन् । तीन जना मध्येबाट १ जना सभापतिमा प्रतिस्पर्धा गर्ने गरी उनीहरुले छलफल चलाएका हुन् । १४ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका सिंह र निधिसँगै कोइराला पनि सभापतिका आकांक्षी हुन् । १५ औं महाधिवेशनमा तीनजना मध्ये १ जना साझा उम्मेदवार बन्ने दाबी उनीहरुको छ । ‘१५ औँ महाधिवेशनमा के गर्ने भनेर हामीहरूले सल्लाह गरिरहेका छौं । शेरबहादुर जी सभापतिमा लड्नु हुन्न । शशांक कोइराला, प्रकाशमान सिंह र म यसबारेमा छलफल गरिरहेका छौं, ’ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भन्नुभयो ।
अहिलेदेखिको कसरत हेर्दा १५ औं महाधिवेशनसम्ममा परम्परागत गुट भत्किने र नयाँ निर्माण हुँदै अर्को धुव्रीकरण हुने देखिएको कांग्रेसकै नेताहरु बताउँछन् ।
कांग्रेसको १५ औं महाधिवेशनबाट नेतृत्वमा जान चाहनेहरुको लर्को लामै छ । सभापतिको नजिकका भनेर चिनिएकाहरु र वैचारिक रुपमा फरक मत राख्ने नेताहरु अहिलेदेखि नै सदाशयता बटुल्ने र नयाँ समूह निर्माणमा जुट्दा पार्टीको मूल कार्यक्रम भने ओझेलमा परेका छन् ।