काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले अध्यादेश मार्फत विधेयक ल्याउने कुराको पार्टीले विरोध गर्ने बताउनुभएको छ ।
आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेत पाण्डेले संसद् मार्फत नै सरकारले विधेयकका कामहरू अगाडि नबढाए विरोध गर्ने बताउनु भयो । उहाँले अध्यादेश मार्फत ल्याइएका विधेयकले जनताको आवाज सम्बोधन गर्न नसक्ने पनि बताउनुभयो ।
पाण्डेले भन्नुभयो, “सरकार जसरी अध्यायदेशबाट विधेयकहरू ल्याइरहेको छ, यो बेठीक छ । यसले ठीक ढंगले जनताका आवाजहरूको सम्बोधन गर्न सक्दैन । त्यस कारण छिटोभन्दा छिटो संसद् बोलाउनुपर्छ । संसद्मै बसेर सरकारले विधेयकहरू प्रस्तुत गरेर विधेयकका कामलाई तीव्रताका साथ अगाडि बढाउनुपर्छ । संसद्लाई यसरी छल्ने कुरा सरकारका लागि बेठीक छ । हामीले यसको विरोध गरेका छौं ।”
उहाँले सरकारले ६ महिनासम्म जनताको बारेमा केही गर्न नसकेको भन्दै अहिले सरकार बनाउने आफूहरूको प्राथमिकता नभएको पनि प्रस्ट पार्नुभयो ।