जय ट्रफी : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

आर्मीले मधेशलाई ८ विकेटले हराउँदा बागमती विरुद्ध पुलिस ५ विकेटले विजयी
पुस २८, २०८१ |खेल ब्युरो
जय ट्रफी : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

काठमाडौं । लिग चरणमा शीर्ष स्थानको नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कपको उपाधिका लागि विभागीय प्रतिद्वन्दी त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । आज भएका दुई खेलमा जित दर्ता गरेर आर्मी र पुलिसले फाइनलमा स्थान बनाएका हुन् ।

जनकपुरमा भएको खेलमा बागमती प्रदेश पुलिससँग ५ विकेटले पराजित भयो भने वीरगन्जमा सम्पन्न खेलमा आर्मीले मधेश प्रदेशलाई ८ विकेटले हरायो ।

रामजानकी बहुउद्देश्यीय रंगशालामा पुलिस र बागमतीबीचको खेलमा श्रवण यादवले ह्याट्रिक गरे । जय ट्रफीको यो पहिलो ह्याट्रिक रह्यो । त्यसैगरी पहिलो पारीमा ७९ रन र दोस्रोमा ५६ रन बनाएर अृमत श्रेष्ठ प्लेयर अफ दि म्याच बने ।

पुलिसले पहिलो दिन टस जितेर फिल्डिङ रोजेको थियो । पहिलो ब्याटिङ गरेको बागमती ३३ ओभर २ बलमा ११२ रन बनाएर अलआउट भयो । पुलिसका ललितले ४ र श्रवणले ३ विकेट लिँदा बागमतीका ईशान पाण्डे बाहेक सबैले बिर्सनलायक प्रदर्शन गरे ।

आफ्नो पहिलो पारीमा अमृतको ७९ र अर्जुन साउदको ७७ रन सहयोगमा पुलिसले २१५ रन बनाएको थियो । बलिङमा सन्दीप लामिछानेले ४ विकेट लिएका थिए । पहिलो इनिङ्समा १०३ रनले पछि परेको बागमतीले दोस्रोमा २१८ रन बनाएको थियो । यसपल्ट बागमतीका रीत गौतम र शुभ कंसाकारले १०९ रनको साझेदारी गरेका थिए । कंसाकारको ७० रन सहयोगमा बागमतीले उत्कृष्ट पारी खेलेको हो ।

आज भएको अन्तिम पारीमा पुलिसले ११६ रनको लक्ष्य २३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि कुशल भुर्तेलले ३२ रन बनाए भने अमृतले ५६ रनको अर्धशतकीय पारी खेले । अर्जुन साउदले अविजित २० रन बनाएर पुलिसलाई जितसम्म पुर्याएका हुन् ।

बागमतीका सन्दीपले २, नन्दन यादव, प्रतीश जीसी र सूर्य तामाङले १–१ विकेट लिए पनि जितका लागि पर्याप्त भएन । आजको जितसँगै पुलिसले तीन खेलबाट ६६ अंक बनायो । ऊ तालिकाको शीर्षस्थानमा रहेर फाइनल पुगेको हो । पुलिस र आर्मीबीच भएको प्रतियोगिताको पहिलो खेल ड्र भएको थियो ।

यता शाहब आलमले २ इनिङमा गरी ९ विकेट लिएको खेलमा आर्मीले मधेशलाई ८ विकेटले हरायो । जय ट्रफीको फाइनल पुग्ने क्रममा आर्मीले शानदार प्रदर्शन गर्यो । लिग चरणमा आर्मी ५५ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

पहिलो दिन ३ बल बाँकी रहँदा ९ विकेट गुमाएको अवस्थामा २२५ रन बनाएर आर्मीले इनिङ्स समाप्तिको घोषणा गरेको थियो । मधेशले टस जितेर पहिले फिल्डिङ गरेपछि ब्याटिङमा आएको आर्मीका बसिर अहमदले ६७ रन जोडेका थिए भने भीम सार्कीले ५२ रनको अर्धशतकीय योगदान गरेका थिए ।

मधेशका रन्जित कुमारले १६ ओभर ३ बल बलिङ गरेर ५ विकेट लिए । ब्याटिङमा पनि कमजोर देखिएको मधेशका हरिशंकर शाहले सर्वाधिक ३१ रन बनाए । बाँकी खेलाडीबाट पनि राम्रो प्रदर्शन हुन नसक्दा मधेशले ३५ ओभर ५ बलमा अलआउट भएर १०२ रन मात्रै बनाउन सक्यो ।

मधेशलाई सस्तैमा रोक्न शाहबले १६ ओभरमा ५ मेडन राख्दै ६ विकेट लिएका थिए । बसिर अहमदले १० ओभरमा १८ रन मात्रै खर्च गरेर १ विकेट लिए ।

१२३ रनको अग्रता बनाएको आर्मीले मधेशलाई फलो अन दिएको थियो । फलो अनमा मयन यादवले ४९ रन बनाए पनि मधेशले ६४ ओभर १ बलमा १५० रन मात्रै बनाउन सक्यो । आर्मीका बसिर, शाहब र आकाश चन्दले क्रमश ४, ३ र २ विकेट लिएपछि मधेश कमजोर बनेको हो ।

आफ्नो अन्तिम पारीमा आर्मीले २८ रनको लक्ष्य २ विकेट गुमाएर पूरा गर्यो । यसक्रममा त्रितराज दाशले १३ रन जोडे । अब फाइनल खेल वीरगन्जमा मंगलबार सुरू हुनेछ । फाइनल खेल ३ दिनको हुनेछ । लिग चरणमा मधेशले ३१ अंक र बागमतीले ४१.५ अंक जोडे ।



Enter Kantipur TV HD
Advertisement