माओवादी केन्द्रले फागुन १ गतेदेखि एक महिने जागरण अभियान चलाउने

पुस २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
माओवादी केन्द्रले फागुन १ गतेदेखि एक महिने जागरण अभियान चलाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले फागुन १ गतेदेखि एक महिना तराई/मधेश जागरण अभियान चलाउने भएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले एक महिने तराई/मधेश जागरण अभियान चलाउने जानकारी गराउनुभएको हो । 

बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजमार्गलाई आधारित बनाएर अभियान सञ्चालन गर्ने र अर्को एक महिना पूर्व-पश्चिम राजमार्गलाई आधारित बनाएर गर्ने प्रस्ताव राख्नुभएको जानकारी दिनुभयो । साथै उपत्यका विशेष अभियान चलाउने धारणा राखेको पनि बताउनुभयो । 

केन्द्रीय कमिटी बैठकमा पार्टी एकता र बृहत् वामपन्थी एकीकरणका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउने, वैज्ञानिक समाजवादलाई मान्नेहरूसित एकताका लागि पहल गर्ने प्रस्ताव आएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टी एकता र बृहत् वामपन्थी एकीकरणको सवालमा अब अहिले मोर्चा छ, त्यो मोर्चालाई सक्रिय गराउने कुरा त भइहाल्यो । त्यसका साथसाथै वैज्ञानिक समाजवादलाई मान्नेहरूसित एकताका लागि पहल गर्ने । नेकपा विप्लव, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेपाल आम पार्टीसँग पनि एकताका लागि पहल गर्ने कुरा भएको छ ।”

उहाँले महिला, दलित र मुस्लिमलाई विशेष अधिकार दिने कुरा पहिला पनि गरेको भन्दै महिलाको अधिकार ३३ प्रतिशतबाट बढाएर ५० पुर्‍याउन पहल गर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement