काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही भएको आरोप लगाउनु भएको छ ।
एमाले केन्द्रीय सचिवालयको बुधबारको बैठकले पूर्वउपाध्यक्ष भीम रावलसहित स्थायी कमिटि सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई पार्टी अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेको थियो । सोही विषयमा आक्रोश पोख्दै रावलले सामाजिक सञ्जालमा लेख्नुभएको छ- केपी गुटको असहिष्णु, निषेधात्मक र निहित स्वार्थी चरित्र निरंकुश, तानाशाही र स्वेच्छाचारी व्यवहारमा छताछुल्ल भयो ।
उहाँले अध्यक्ष ओलीमाथि भ्रष्ट, अनैतिक, फौज्दारी मुद्दा लागेका, विचौलिया र दलालहरुलाई काखि च्यापेको गम्भिर ओरोप लगाउनु भएको छ । ‘कतिपय भ्रष्ट, अनैतिक, फौज्दारी मुद्धा लागेका, राष्ट्रिय एकता, अखण्डता, संस्कृति र एमाले विरोधी एवं विचौलिया र दलालहरुलाई काखि च्याप्नेले देशभक्त इमान्दार मानिसमाथि प्रहार गरेकोमा मलाई आश्चर्य लागेको छैन,’ उहाँले लेख्नुभएको छ ।
एमाले केन्द्रीय सचिवालय बैठकले रावललाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ भने बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरिएको थियो ।
यस्तै एमालेका स्थायी समिति सदस्य बिन्दा पाण्डेले आफूले पार्टीको नीति र विधान अनुरुप नै बोलेको प्रतिक्रिया दिनुभएको छ । कान्तिपुर समाचारसँग कुरा गर्दै उहाँले आफू पार्टी हित र लोकतन्त्रका लागि पटक-पटक स्पष्टिकरण दिन पनि तयार रहेको पनि प्रष्ट पार्नुभयो ।